Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

पहिराले पुरिएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य तीव्र


३ असार, फुङ्लिङ । ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन् । मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन् ।

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ । बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ ।

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । यद्यपि मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताए ।

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ ।

यस्तै सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।

त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ । मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन् । ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ ।

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताए । उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि जानकारी दिए । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?