Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कमलाको दुखः तीन मिनेटको बाटो पार गर्न डेढ घण्टा


२ असार, लहान । शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि ।

हतार गरेर के गर्नु ! उनीहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदी छेउमा पुगेर रोकिनु थियो । जसरी केही समयअघिदेखि सिरहा नगरपालिका–७ का कपिलदेव यादव पछुताउँदै रोकिरहेका थिए । ‘छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दुःख पाइयो । पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो । अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु,’ यादवले मलिन मुद्रामा भने ।

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि । ‘साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आएँ तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ,’ उनले भने, ‘यस्तो हविगत होला भन्ने के थाहा ! फँसादमा परियो । अब कुन बाटो भएर जाने थाहा नै छैन ।’

यतिबेलै आइपुगे धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा । वर्षौंदेखि कमलाको दुःखबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाए । ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुङ्गा चढेर पुलपारी पुग्ने । ‘के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नुपर्छ,’ उनले भने । उनले तीन मिनेटको दूरीमा पुग्ने ठाउँमा अब डेढ/दुई घण्टा समय लाग्ने बताए ।

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भाँसिएको थियो । स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ । यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा रु एक सय तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा परिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिए ।

‘अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन । खै ! कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो ?,’ उनले भने । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आगामी असोजसम्म काम रोकिएको जानकारी दिए।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो । निर्माण कम्पनिले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माण अनिश्चित भयो ।

यही अनिश्चितताबीच गत फागुन १५ मा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम शुरू गर्न निर्देशन दिएका थिए । ‘जनताले निकै सास्ती भोग्नुपरेको छ । यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पुर्‍याएर तत्काल काम गर्न निर्देशन दिन्छु,’ उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए । यसको केही समयपछि गत चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर शुक्रबारदेखि सो कार्य पूर्णरूपमा ठप्प भएको छ ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?