Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता


भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिनुहुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताउनुभयो । राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर परीक्षण तथा उपचार शिविरसमेत सञ्चालन गरिने छ । नेपालका विभिन्न ठाउँमा सिएमसीले आयोजना गर्ने शिविरमा राजीव गान्धीका चिकित्सक सहभागी हुनेछन् । उहाँले भन्नुभयो, “अस्पतालमा र बाहिर हामीले जहाँ क्यान्सर परीक्षण शिविर राख्छौँ त्यहाँ राजीव गान्धीका चिकित्सक आउनुहुन्छ ।” क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुनेछ । यहाँका चिकित्सक राजीव गान्धीमा गएर तालिम लिने सम्झौतामा उल्लेख छ । प्रा डा देवले भन्नुभयो, “यहाँभन्दा त्यहाँ बिरामी धेरै हुन्छन् । त्यहाँ तालिम लिँदा प्रभावकारी हुन्छ ।” आवश्यकताअनुसार तीन महिनादेखि एक वर्षको तालिम हुनेछ । क्यान्सर बिरामीको तथ्याङ्क राख्ने काममा पनि सहयोग प्राप्त हुनेछ । डा देवले भन्नुभयो, “हाम्रो सूचना प्रविधिको जनशक्तिले त्यहाँ गएर तालिम लिनेछ ।” सिएमसी क्यान्सर इन्स्टिच्युटको ट्युमर बोर्डको बैठकमा समेत राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत सहभागी हुनेछन् । सिएमसीमा कुनै पनि क्यान्सरको बिरामी आएपछि उसलाई कस्तो किसिमको उपचार कसरी सुरु गर्ने भन्ने विशेषज्ञको समूहमा छलफल हुने गर्दछ । यस्ता छलफलमा राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत अडियो भिजुअलमा सहभागी हुनुहुनेछ । प्रा डा देवले भन्नुभयो, “उहाँहरुले छलफलमा विज्ञको राय दिनुहुन्छ ।” चितवन मेडिकल कलेजले एक सय शय्याको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ सञ्चालनमा ल्याएको छ । इन्स्टिच्युटको बिहिबार उद्घाटन गरिएको छ । इन्स्टिच्युटमा मस्तिष्कमा रहेको ट्युमर, घाँटी तथा टाउकोसम्बन्धी, फोक्सो, स्तन, पेट, कलेजो, पाठेघरको मुख र गर्भाशय, मूत्रासय र अन्य क्यान्सरको उपचार सुरु गरिएको छ ।

जिल्लामा एशियाकै नमूना क्यान्सर अस्पतालको रुपमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसमेत छ । बिरामीकोे चापका कारण यहाँ पालो नपाएका बिरामी अहिले पनि भारतसहित अन्य देश जान बाध्य छन् । सरकारी दर रेटमा नै सिएमसीले क्यान्सरको उपचार थालेको छ । सरकारले दिने सहुलियतसमेत यस अस्पतालमा पाइन्छ ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?