Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

घरघरबाट सुरु भयो फोहोरको वर्गीकरण


३२ जेठ, झापा । बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्याँस उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि नगरपालिकाले सबै वडामा छुट्टा छुट्टै गाडी पठाउने गरेको उनले जानकारी दिए। “कुहिने फोहर सङ्कलन गरेर दुई वटा गाडीमार्फत कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहारमैला व्यवस्थापन कम्पनीमा लैजाने कार्य सुरु भइसकेको छ”, उनले भने।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको साझेदारीमा स्थापना भएको उक्त कम्पनीले नगरबाट आउने कुहिने फोहोरलाई जैविक ऊर्जामा परिणत गर्ने परियोजना सञ्चालन गरिरहेको छ। “वर्गीकरण नगरिएको फोहोर परियोजनाले लिदैन। हरेक टोल विकास संस्थामा जनचेतनामूलक कार्यक्रम गरेर घरबाट निस्कने फोहोरमैलालाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरिदिनु अनुरोध गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, “विज्ञहरुको सुझाव अनुसार नै फोहर वर्गिकरण गरेर सङ्कलन गर्नुका साथै जागरण अभियान पनि सँगसँगै चलाइरहेका छौँ।”

वर्गीकरण नगरिएको फोहर नबुझ्ने जानकारी गराइसकेको हुँदा नगरवासी आफैले कुहिने र नकुहिने फोहोरलाई अलग–अलग भाँडोमा राखेर बुझाउने गरेको उनले बताए। उनका अनुसार कनकाई नगरपालिका–२ को जामुनखाडीमा बायोग्यासको उत्पादन गृह छ।

बायोग्याँस उत्पादनका लागि विश्व बैंकले रू पाँच करोड ४६ लाख अनुदान दिएको कम्पनीले जनाएको छ। बायोग्याँसको उत्पादनका लागि रू २२ करोड लगानी भएकामा ६० प्रतिशत लगानी तीन पालिकाले व्यहोरिरहेका छन्। बिर्तामोड नगरपालिकाबाट दैनिक न्यूनतम् छ ट्याक्टर फोहरमैला निस्कने गरेको छ।

कुहिने फोहरबाट बायोग्यासका साथै जैविक मलसमेत उत्पादन गरिने कम्पनीले जनाएको छ। नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर ‘पेभर्स’नामक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीले योजना बनाएको छ। कम्पनीमा चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार दुई सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने छ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट व्यावसायिक रुपमा ग्यास उत्पादन सुरु गर्न नगरपालिकाबाट वर्गीकरण भएको फोहर सङ्कलन आवश्यक रहेको बताए। उनले स्रोतमै कुहिने र नकुहिने वर्गीकरण गर्न नगरवासीलाई अपिल समेत गरे।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?