Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

महेन्द्रनगर बजारका सार्वजनिक शौचालय प्रयोगविहीन


३१ जेष्ठ ,दोधारा चाँदनी । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेका हुन् ।

बजार क्षेत्रमा रहेका पाँच शौचालयमध्ये एउटा शौचालय मात्रै प्रयोग गरिएको अवस्थामा छ । अन्य प्रयोगविहीन छन् । बजारमा सार्वजनिक शौचालय सर्वसुलभ नहुँदा किनमेल तथा अन्य कामले बजार क्षेत्र आउजाउ गर्ने सर्वसाधारणलाई समस्या भएको छ ।

सार्वजनिक शौचालय प्रयोगमा ल्याउनेबारे नगरपालिकाले ध्यान दिन सकेको छैन । शौचालय व्यवस्थापनको जिम्मेवारी भीमदत्त नगरपालिकाको भए पनि यसतर्फ ध्यान नपुगेको स्थानीय एकेन्द्र भट्टले बताए । “किनमेल गर्न आउनेहरु शौचालय खोज्दै हिँडेको पाइयो, अन्यको अवस्था पनि उस्तै छ”, उनले भने ।

सरसफाइ अभियन्ता एवम् ‘हेल्प नेपाल’का अध्यक्ष मदन चन्दले बजारमा सार्वजनिक शौचालय हुँदा हुँदै पनि नगरपालिकाले व्यवस्थितरुपमा सञ्चालन गर्न नसकेको बताए । “बजारका केही सार्वजनिक शौचालय व्यक्तिले कब्जा गरेका छन्, केही बन्द छन्”, उनले भने, “यी शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले पहल गर्नुपर्छ ।”

भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले कर्मचारी व्यवस्थापन गर्न नसक्दा शौचालय बन्द भएको बताए । “हामीले पटकपटक ठेक्कामा लगाउन पहल गर्यौँ, सफल भएनौँ । नगरपालिका आफैँले कर्मचारी व्यवस्थापन गरेर पनि सञ्चालन गर्न सकिएन”, उनले भने ।

पालिकाले व्यवस्थापन गर्न नसक्दा बजारका केही शौचालय व्यवसायीले नै सञ्चालन गरेको धामीले बताए । बजार क्षेत्रमा शौचालय नहुँदा खुलारुपमा दिसापिसाब गर्नेको सङ्ख्या अत्यधिक छ । यसबाट बजार क्षेत्र दुर्गन्धित बनेको स्थानीयको गुनासो छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?