Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद


३१ जेठ, सप्तरी । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने र रु एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ । स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो ।

राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए । बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए ।

सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?