Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल


३० जेष्ठ ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

मङ्गलबार भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उनले बताए ।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताए । अध्यक्ष ढकालले भने, “ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य शृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ । उदाहरणका लागि, नेपाल–बङ्गलादेश र भारतले नेपालको जलविद्युत् बङ्गलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् ।”

उनले नेपालमा उत्पादित बिजुली भारत हुँदै बङ्गलादेशसम्म पुग्ने र यसलाई बिमस्टेकका अन्य सदस्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिने धारणा राखे । कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड दिए ।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य शृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाइ भन्सार प्रक्रिया, आवश्यक नीति नियम सरल बनाउँदै लगानी सहजीकरणका उपायहरू प्रवर्द्धन गर्न सकिने उनले बताए । “यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ । नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यातमा विविधीकरण हुन्छ”, अध्यक्ष ढकालले भने ।

उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताएको सो विज्ञप्तिमा उल्लेख छ । “बिमस्टेक राष्ट्रहरूबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ”, उनले भने । उनले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने प्रस्ताव गरेका थिए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?