Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सबैको रोजाइमा राराताल


३० जेठ, मुगु । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।

सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ । बाजुराको ज्ञानोदय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएका शिक्षक मदन पौडेलले खत्याड गाउँपालिकाको मसानेसम्म सडक सञ्जाल जोडिएपछि एकै दिनमा रारा आउन सफल भएको बताए ।

पहिला पनि शैक्षिक भ्रमणमा राराताल आएको स्मरण गर्दै उनले भने, “तीन वर्ष पहिले रारामा शैक्षिक भ्रमण हिँडेर आउजाउ गर्दा पाँच दिन लागेको थियो, अहिले गाडीमा दुई दिनमै आउजाउ हुने भयो ।” उनले १० कक्षामा अध्ययनरत १५ विद्यार्थी र तीन शिक्षक प्रतिव्यक्ति रु छ हजार खर्चिएर रारा भ्रमणमा आएको बताए । छात्रा जानकी तिमिल्सिनाले रारा घुम्न पाउँदा खुसी लागेको बताइन् ।

उनले भनिन्, “राराताल सफा, मनोरम र निश्चल रहेको देखेँ । रारा घुम्न पाउँदा खुसी लाग्यो ।” भ्रमणका क्रममा वनस्पति, जडीबुटी, चराचुरुङ्गी, माछाका साथै मठमन्दिर देखे पनि त्यसको विवरण र सङ्ग्रहालयको व्यवस्थापन नहुँदा धेरै जानकारी लिन नपाएको गुनासो उनले गरिन् ।

भ्रमणमा आउने आगन्तुकले राराको मध्यवर्ती क्षेत्रभित्र पाइने विभिन्न प्रजाति र यहाँको संस्कृतिका विषयमा सूचना लिन सहज होस् भन्ने उद्देश्यले निर्माण भएको सूचना केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख विश्वबाबु श्रेष्ठले निकुञ्जभित्र रहेका विभिन्न प्रजातिका वनस्पति, जडीबुटी, चराचुरुङ्गी, माछाको विवरण सूचना भवनमा अभिलेख राख्नलाई अर्थ मन्त्रालयबाट रकमको व्यवस्थापन नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बताए ।

चालु आर्थिक वर्षमा रारातालमा भ्रमण गर्न आउने नेपालीको सङ्ख्या छ हजार सात सय २७ पुगेको छ । विदेशी पर्यटकको सङ्ख्या भने एक सय ७७ रहेको छ । भ्रमण गर्न आउने आगन्तुकबाट रु ११ लाख ६० हजार दुई सय राजस्व जम्मा भएको निकुञ्ज कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?