Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित


२७ जेष्ठ ,पर्वत । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् । \

विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन् ।

लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताए । गत वर्ष कोदो रोपिसकेर धान रोपाइँ सुरु गरेका थियौँ उनले भने, “यस वर्ष कुनै पनि रोप्न पाइएको छैन, कोदोको बीउ सुकिसकेको छ भने धानको बीउसमेत राख्न पाइएको छैन ।”

धानको पानी बीउ राख्ने प्रचलन भए पनि जेठ अन्तिम सातासम्म वर्षा नभएपछि कतिपयले धुले बीउ राख्नथालेका छन् । सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेवास–५ का हरि पौडेलले बताए । यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो ।

पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उनले बताए । पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आएका छन् । झण्डै सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानालानै सुकेकाले समस्या भएको हो ।

जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीको रुपमा उत्पादन हुने गरेको छ । जिल्लाभर नौ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झण्डै सात हजार हेक्टरमा कोदो र मकै खेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् । वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नगर्ने बताए ।

रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुनेसमेत उनको भनाइ रहेको छ । जिल्लाका सात पालिकाका ६१ वडाकै कृषक यतिबेला मनसुनको पर्खाइमा रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?