Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका कर्मचारी, चार टोलीले खोजी गर्दै


२१ जेठ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा वेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ ।

सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आईतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार गोलन्जोर गाँउपालिका–७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना वेपत्ता भएका थिए ।

वेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल छन् । गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किएको र उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

वेपत्ताको खोजीमा शनिबारसम्म सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली परिचालन भएको थियो । आईतबारदेखि सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोली पनि थपेर चार टोली परिचालन गरिएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनले भने, “खोजी कार्यलाई तीव्र बनाएका छौं । वेपत्ता हुनुभएकाहरु फेला पर्न सक्नुभएको छैन ।”

खोजी गर्न चार वटा टोली परिचालन गरिएकोले वेपत्ता भएकाहरु फेला पर्नसक्ने उनकाे आशा छ । उनका अनुसार जीप खसेको ठाँउ सुनकोसी नदीमा पानीको बहाव धेरै र गहिरो भएकोले खोजी गर्न गाह्रो भएको हो ।

जीप खसेको भित्तामा सुनकोसी नदी पनि ठोकिएकोले सुरुङ बनेको हुनसक्ने र जीप त्यही सुरुङभित्र पसेको पनि हुनसक्ने अनुमान गरिएको छ ।

सुनकोसीको पानीको बहाव समेत अर्को तर्फबाट कटाउन शनिबारबाटै तीन वटा स्काभेटर मेसिन प्रयोग गरिएको छ । अहिलेसम्म २५ प्रतिशत पानी अर्को तर्फबाट कटाइएको छ । आधा पानी अर्कोतर्फ फर्काएर करेन्ट प्रवाह घटाई खोजी कार्यलाई सहज बनाउने प्रयास गरिएको छ ।

धमिलो पानी भएकाले नदीको भुईसम्म नदेखिँदा खोजीमा समस्या भएको एसपी सिलवालको भनाइ छ । “गहराइमा पुग्दा समेत केही देखिदैन,” उनले भने, “पानी सङ्ग्लो भई दिएको भए यति ठूलो समस्या हुने थिएन ।”


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?