Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली


२० जेठ, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो ।

नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने कुरा बताएपछि यहाँका नागरिक खुसी भएका छन् ।

वर्षौँ पुरानो जीर्ण बनेको झोलुङ्गे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका नागरिक मोटरेबल पुल बनाउने कुरामा भारतीय प्रधानमन्त्री मोदीले गरेपछि खुसियाली छाएको छ । यहाँ मोटरेबल पुल बनेपछि दुवै देशको आर्थिक गतिविधिमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताए । उनले भने, “आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने आशा पलाएको छ । यो निकै खुसीको कुरा पनि हो । मोटरेबल पुल निर्माण भएमा दुवै देशमा आर्थिक गतिविधिमा वृद्धि पनि हुन्छ ।”

मोटरेबल पुल निर्माणपछि आर्थिक वृद्धिका साथसाथै धार्मिक पर्यटन भित्र्याउन पनि सहज हुने सङ्घका उपाध्यक्ष भट्टको भनाइ छ । उनले भने, “यसअघि सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा पर्यटक भित्र्याउन असहज हुने गरेकामा पुल निर्माण भएमा भारतीय दर्शनार्थीलाई नेपालका धामको दर्शन गर्न सहज हुनेछ ।”

बैतडीमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली भगवती, रौलाकेदार, दोगडाधाम, ग्वाल्लेककेदार, पतालभुवनेश्वर धामलगायत धार्मिक तथा पर्यटकीयस्थल छन् । पुल निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल हुने स्थानीय महेशदत्त भट्टले बताए । उनले भने, “मोटरेबल पुल निर्माणपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने विश्वास छ ।”

नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी मात्रै नभएर सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशका व्यापारिक सम्बन्ध पनि विस्तार हुने विश्वास गरिएको छ । पुल निर्माण भएमा दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकका बीच पारिवारिक र सामाजिक सम्बन्ध पनि बलियो हुने दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन्, “भारतसँग रोटीबेटीको सम्बन्ध रहँदै आएकामा पुल निर्माणपछि यो सम्बन्ध अझै प्रगाढ हुनेछ ।”

मोटरेबल पुल बन्ने कुरा छिट्टै कार्यान्वयनमा आउनुपर्नेमा जोड दिइएको छ । झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु गरिए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने सङ्केत देखिएको हो ।

झोलुङ्गे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकामा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको थिएन । झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको माग गर्दै यहाँ एक महिनासम्म अनशन गरिनुका साथै बैतडी उद्योग वाणिज्य सङ्घले सरकारलाई हस्ताक्षरसमेत बुझाएको थियो ।

जिल्ला भ्रमण गर्ने नेपालका शीर्ष नेताहरुले पनि झुलाघाट नाकामा पुल बनाउन पहल गर्ने बताउँदै आएका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत यहाँका प्रमुख राजनीतिक दलले झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरालाई आफ्नो चुनावी एजेण्डामा राखेका थिए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?