Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एमाले सचिवालय बैठक : नेताको जिम्मेवारी हेरफेर


२० जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हेरफेर गरेको हो ।

एमाले प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिअनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई पार्टीका ३३ वटा केन्द्रीय विभागलाई कामको प्रकृतिका आधारमा समूह बनाई ती समूहको संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले पार्टीको कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश, जिल्ला र पालिका तहसम्म केन्द्रीय कमिटीका नेतालाई इन्चार्जका रूपमा खटाउने निर्णय गरेको छ । एमालेले सातै प्रदेशका इन्चार्ज परिवर्तन गरी पार्टीका सचिवलाई प्रदेश इन्चार्ज तोकेको छ ।

कोशी प्रदेशमा सचिव रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, वागमतीमा तोक्न बाँकी, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदुरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकिएको छ ।

प्रचार सचिव विष्टका अनुसार बैठकले केही विभागको प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ ।

सङ्गठन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी तोकिएको छ । यसअघि प्रचार विभागको प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका थिए ।

बैठकले जिल्ला इन्चार्जको जिम्मेवारी फरक भूगोलमा स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई दिएको छ भने केन्द्रीय कमिटी सदस्यलाई पालिकास्तरको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको प्रचार सचिव विष्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

१३ जना केन्द्रीय सदस्यमा मनोनित

सचिवालय बैठकले एमालेका पुराना नेता मुकुन्द न्यौपाने (भोजपुर)सहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
मनोनित हुनेमा प्रेमबहादुर सिंह (कालिकोट) भागवत विश्वासी (दाङ), चूडामणि जङ्गली (कास्की), हेमराज राई (भोजपुर), डम्मर विष्ट (सुर्खेत), अजय गुप्ता (रौतहट), एकवाल मियाँ (बारा), गणेश खनाल (गुल्मी), प्रेम तामाङ (रसुवा), यमबहादुर परियार (चितवन), सुरेन्द्र मानन्धर (काठमाडौँ) र उमाशंकर अरगरिया (धनुषा) रहेका छन् ।

विभिन्न चार प्रस्ताव पारित

बैठकले नागरिकता विधेयकलगायत विभिन्न समसामयिक प्रस्ताव पारित गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोउन् र कुनै पनि गैरनागरिकले नागरिकता प्राप्त गर्ने स्थिति नबनोस् भन्ने कुरामा एमाले स्पष्ट रहेको जनाइएको छ ।

राष्ट्रिय उन्मुक्ति पार्टीका रेशम चौधरीलाई गरिएको आममाफीप्रति पार्टी गम्भीर बनेको जनाएको छ ।

यस्तै गहिरिँदै गरेको आर्थिक सङ्कट, मुलुक आर्थिक मन्दीमा प्रवेश गरिसकेको स्थिति र विश्व अर्थतन्त्रले नयाँ चुनौतीको सामना गरिरहेको यथार्थमा प्रस्तुत गरिएको बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने पार्टीको निष्कर्ष बैठकले निकालेको छ ।

यसैगरी बैठकले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन एकाइ राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?