Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

एक सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी


२० जेष्ठ ,मङ्गलबारे । पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।

समितिका अनुसार फागुनमा रु २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा रु २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा रु १८ लाख ८५ हजार एक सय पाँच भेटी सङ्कलन भएको छ । त्यस्तै जेठमा हालसम्म रु पाँच लाखभन्दा बढी रकम सङ्कलन भइसकेको छ । यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरुपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए ।

रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ । नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । “पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे एक सय दिनमा रु ६६ लाख ६१ हजार तीन सय ७८ भेटी सङ्कलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ”, उनले भने ।

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ । यसअघि मन्दिरमा सङ्कलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ ।

यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन । राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन । लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन ।

यसअघिको समितिले भने यही जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने बताएको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाइने बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?