Trending
>>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने >>   राज्यको क्रुरतालाई सहेर चुप बस्न सकिन्न् , संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्छ : प्रकाशचन्द्र… >>   विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चितः अध्यक्ष अग्रवाल >>   तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छः गृहमन्त्री >>   राजसंस्था पुनःस्थापना गराएरै छोड्छौँः डा. जगमान गुरुङ >>   मुलुकमा अझैपनि थाहा नहुनेगरी भ्रष्टाचार भइरहेको हुनसक्छ:प्रधानमन्त्री ओली >>   चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धि महासंघ अध्यक्ष सिंह >>   पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा
Logo
२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार

वाणिज्य बैंक ऋण प्रवाह तयार


विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखलाई बोलाएर आज छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँहरुले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरु तत्पर रहेको बताउनुभयो ।

छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखको सहभागिता थियो । महानगरको करवृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उहाँहरुले सामूहिक प्रतिबद्धता जनाउनुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरुले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैंकका प्रमुखहरु सहमत भएका छन् । छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर सङ्कलन अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गर्दै भन्नुभयो,“बैंकहरुले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिनु होला ।” बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको सौन्दर्यकरणलगायतमा पनि सहयोग गर्न सक्ने भन्दै प्रमुखले भन्नुभयो, “विराटनगर तपाईंहरुको पनि हो, तपाईंहरुले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ ।”

उपप्रमुख शिल्पा निराला कार्कीले बैंकहरुले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको प्रतिक्रिया दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको जानकारी दिँदै आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताउनुभयो । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको पाँच वटा वडामा कर सङ्कलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । आर्थिक वर्ष रु ४९ करोड ७८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको महानगरले चालु आर्थिक वर्षमा रु ८७ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?