Trending
>>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

तनहुँमा छ सय ४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरु मरे


१५ जेठ, तनहुँ । अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उनले बताए । लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए ।

उनका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन् । म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उनले बताए ।

ऋषिङ गाउँपालिकामा भने कम सङ्ख्यामा पशुमा सङ्क्रमण देखिएको उनले बताए । डा श्रेष्ठका अनुसार सङ्क्रमण भएका पशुमध्ये ४३ गाईगोरु मरेका छन् । आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दीपुरमा दुई, देवघाटमा दुई र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको सङ्क्रमणबाट मरेको उनले बताए । “खासगरी यस रोगबाट मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनुपर्ने हुन्छ”, उनले भने ।

व्यवसायिकरुपमा बढी पशु पालिएका क्षेत्रमा सङ्क्रमण फैलिए बढी नोक्सान हुनसक्ने उनको भनाइ छ । “यसको निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्छ, यसका लागि सर्कुलेशन गरिसकेका छौँ”, उनले भने, “विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतता आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ ।” खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उनले बताए ।

व्यास–५ चिन्टुटारका पशुपालक किसान नरे नेपालीले केही दिनअघि एउटा गाईमा लम्पीस्किन देखिएको बताए । लम्पीस्किन देखिएकाले विज्ञ केन्द्रमा पशुवस्तुको उपचार तथा रोग नियन्त्रणका लागि जानकारी गराउन आएको उनले बताए ।

सोही ठाउँका बलबहादुर दरैले भने, “चार÷पाँच दिनअघि मात्रै एउटा गाईमा लम्पीस्किन देखिएको थियो, अहिले फेरि अर्कोमा देखिएको छ, यसको उपचार तथा नियन्त्रणका बारेमा जानकारी लिन विज्ञ केन्द्रमा आएका हौँ ।” पशुपालकको मुख्य आय नै दूध बिक्री भएको र यसरी रोग लागेपछि दूध बिक्री गर्न पाइँदैन भने आम्दानी कसरी गर्ने भन्ने समस्या भएको कृषक दरैले बताए ।

खोपको व्यवस्थापन गरी सङ्क्रमण भएका गाईवस्तुलाई छुट्टै स्थानमा राख्न डा श्रेष्ठले अनुरोध गरे । “लम्पीस्किन भएका गाईवस्तुलाई आइसोलेशन गरेर उपचार गर्ने र दूध बिक्री गर्नुहुदैन, दूध तथा सङ्क्रमण भएका गाईलाई स्याहारसुसार गरी अर्कोतर्फ जाँदा मान्छेको माध्यमबाट पनि यो रोग सर्न सक्छ, त्यसले गर्दा सचेत हुनुपर्छ”, उनले भने ।

लम्पीस्किन भाइरल रोग हो । झिँगा, लामखुट्टे, विभिन्न किराबाटको टोकाइबाट जोगाउनुपर्ने हुन्छ । यो रोगको सङ्क्रमणले पशुमा फोका निस्कने हुन्छ । यस रोगको सङ्क्रमणले पशुवस्तुलाई कमजोर बनाउने गर्दछ ।

सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ । सकेसम्म आइसोलेशन गर्ने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने विज्ञ केन्द्रले जनाएको छ ।

लम्पीस्किन रोग नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारसमक्ष ‘आकस्मिक उपचार’का लागि कोष स्थापना गर्न माग गरिएको डा श्रेष्ठले बताए । कोष स्थापना गरिएमा यस्ता आकस्मिकरुपमा लाग्ने रोग तथा बाढीपहिराबाट पशुपालक किसानलाई क्षति भएमा सहयोग गर्न सहज बनाउने गरी प्रदेश सरकारसमक्ष माग गरिएको उनले बताए ।

पशुपालन गरिएका क्षेत्रमा ठूला फार्म सञ्चालन गरिएका छन् । त्यस क्षेत्रमा व्यावसायिक पशुपालन गरिएकाले यस रोगको सङ्क्रमण भएमा जिल्लामा अझ प्रकोपले महामारीको रुप लिने भएकाले सचेतना अपनाउनुपर्ने उनको सुझाव छ । विज्ञ केन्द्रले स्थानीय सरकारलाई सचेतना अपनाउन सुझाव तथा खोप खरिद गर्न अनुरोध गरिसकेको छ ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?