Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

अस्पताल पुर्‍याए बाँच्छन् सर्पदंशका बिरामी


१४ जेठ, बाँके । कामको खोजीमा भारत जान हिँडेका दैलेख दुल्लुका माधव आचार्यलाई गत वैशाख ३१ गते बाँकेको कोहलपुरमा सर्पले डस्यो । कोहलपुरस्थित आफन्तकामा बन्दै गरेको नयाँ घरमा सुतेका बेला राति आचार्यलाई सर्पले डसेको थाहा भएन । बिहान जिब्रो बाक्लो हुँदै गएको र केही पनि निल्न सक्ने अवस्था नभएपछि स्वास्थ्य उपचारका लागि आचार्य नजिकैको मेडिकल हुँदै शिक्षण अस्पताल कोहलपुर पुगे ।

बिहान ७ बजे शिक्षण अस्पताल पुगेका आचार्यको स्वास्थ्य अवस्था बिग्रिएको सर्पदंशका कारण हो भन्ने एकीन नभएकाले शिक्षण अस्पतालका चिकित्सकले नाक, कान, घाँटी, आँखा विभागमा जाँच गर्दा गर्दै बिरामीको श्वास प्रश्वास प्रणालीमै समस्या भयो । सास फेर्न नसकेर ढलेपछि बिरामीको सघन उपचार कक्षमा उपचार सुरु भयो ।

सघन उपचार कक्षमा राखेर उपचार गर्ने क्रममा पुग्नुभएका सर्पदंश व्यवस्थापन तालिम लिएका चिकित्सकले बिरामीको लक्षणअनुसार सर्पदंश भएको अनुमान गरे पश्चात बिरामी १४ घण्टापछि राति ९ बजे शिक्षण अस्पताल कोहलपुरबाट भेरी अस्पताल नेपालगञ्ज प्रेषण भए । पूरै बेहास अवस्थामा भेरी अस्पताल पुगेका बिरामीको राति १० बजेर ३० मिनेटबाट मात्रै उपचार सुरु भयो ।

मस्तिस्क पनि सुस्त अवस्थामा पुगिसकेका बिरामीलाई भेरी अस्पतालमा सर्पदंशको उपचारमा संलग्न डा कृष्ण आचार्यको टोलीले सघन उपचार कक्षमा राखेर ‘क्रिटिकल केयर’सहित सर्पदंशको उपचार सुरु गर्यो । नौ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बिरामीले नयाँ जीवन पाएको डा आचार्यले बताए ।

‘बिरामीको हिस्टोरी र लक्षण हेर्दा सर्पले टोकेको पुष्टि भए पनि भेरी अस्पताल पुग्दा बिरामीको अवस्था अत्यन्तै गम्भीर भएकाले क्रिटिकल केयरमा राखेर उपचार सुरु गरे बिरामी बाँच्ने सम्भावना देखियो’, डा. आचार्यले भने, ‘यस्तो अवस्थामा एनटीस्न्याक भेनमको कुनै भूमिकानै थिएन, बिरामीलाई क्रिटिकल केयरको आवश्यकता थियो ।’ भेरी अस्पतालको पचास/साठी जनाको नर्सिङ स्टाफको टोलीले अनवरत रुपमा भेन्टिलेटरमा राखेर उपचार गरेपछि नौ दिनमा भेन्टिलेटरको ट्यूब निकालिएको थियो ।

यो एउटा उदाहरण मात्र हो । सर्पले डसेर अन्तिम अवस्थामा पुगेका बिरामी भेरी अस्पतालमा आएपछि नयाँ जीवन पाएका धेरै घटना छन् । डा. आचार्यले सर्पले टोकेका बिरामीलाई अस्पताल वा उपचार केन्द्रसम्म ल्याउनै ढिलो हुने गरेका कारण ज्यान जोखिममा पर्ने भएकाले सर्पले टोकेमा तुरुन्त अस्पताल वा उपचार केन्द्रमा पुर्‍याए बिरामीको ज्यान जोगिने बताए ।

सर्पले टोकेमा गाउँटोलकै धामी, झाँक्री, गुरुवा वा अरु परम्परागत विधिमा नअल्झेर बिरामीलाई तुरुन्त सर्पदंश उपचार केन्द्र वा उपचार हुने प्रेषण अस्पतालमा ल्याउन उनको सुझाव छ । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले ८० प्रतिशत बिरामीको अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु हुने गरेको बताए ।

‘सर्पले टोकेमा प्रि हस्पिटल केयर नै सबैभन्दा महत्वपूर्ण हुन्छ, समयमै अस्पताल ल्याउन सके अकालमै ज्यान गुमाउनुपर्दैन’, उनले भने । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईँ सर्पले टोकेमा सरकारी अस्पतालमा एन्टिस्नेक भेनम निःशुल्क भए पनि भेन्टिलेटर र अरु उपचारका साथै औषधि महँगो पर्ने भएकाले विपन्न व्यक्ति मारमा परिरहेको बताए ।

नेपालमै पहिलो पटक सर्पदंशको उपचार गर्नुभएका नवलपरासीस्थित कालीगण्डकी अस्पतालका डा छविलाल थापा मगरले अस्पताल ल्याएका सबै सर्पदंशका बिरामीलाई भेन्टिलेटर आवश्यक नरहेको अनुभव सुनाउँदै विषालु सर्पले टोकेका व्यक्तिले समयमै एन्टिस्नेक भेनम पाएमा निको हुने बताए । ‘धामीझाँक्री कहाँ लगेर ल्याउँदा ढिलो हुन्छ, बाटोमै मृत्यु हुनसक्छ, सर्पले टोकेका व्यक्तिले समयमै उपचार पाए निको हुन्छ’, उनले भने ।

तराईका विभिन्न स्थानमा सर्प डसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेकाले त्यसबाट बचाउन सर्पदंशबाट कसैको मृत्यु नहोस् भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा नेपालका २५ जिल्लामा चार वर्षे सर्पदंश रोकथाम अभियान सुरु भएको छ ।

अभियानका क्रममा नेपाली, थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबारे मिथिला कलामा आधारित पाँच भाषाको पोस्टर, रेडियो कार्यक्रम र पीएसएमार्फत जनचेतना जगाउने काम भइरहेको रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डा. निर्मल रिजालले जानकारी दिए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?