Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान


१२ जेठ, कञ्चनपुर । जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो ।

“जङ्गली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन् ।” जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०७९÷८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा रु १० लाख बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार एक सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको बताइएको छ ।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व–पश्चिम राजमार्गमा ६०, वडा नं १ मा १०, वडा नं २ मा सात, वडा नं ३ मा सात, वडा नं ४ मा नौ, वडा नं ६ मा आठ, वडा नं ७ मा १०, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा आठ, वडा नं ११ मा नौ र वडा नं १२ मा १० थान सडकबत्ती जडान गरिएको छ ।

त्यसैगरी नगरपालिकाबाट आवश्यकता भएका अन्य ठाउँमा थप बत्ती जडान गर्न १० वटा सडकबत्ती जडानको व्यवस्था गरिएको छ । जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्र र पूर्व–पश्चिम राजमार्गलाई लक्ष्य गरी सडकबत्ती जडानको काम भइरहेको नगरउपप्रमुख कल्पना पन्तले बताइन् ।

“राजमार्ग क्षेत्रका नगरपालिकाका मुख्य बजार क्षेत्रमा अवान्छित गतिविधि रोक्न पनि सडकबत्तीले सघाउ पुर्‍याउँछ”, उनले भनिन्, “रातिका बेला सर्वसाधारणलाई आवतजावत गर्न सघाउ पुग्छ, उज्यालो हुने ठाउँमा जङ्गली हात्ती प्रवेश नगर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले सडकबत्ती जडान गरेका छौँ ।”

वडा कार्यालयमार्फत हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जङ्गली जनावरको आतङ्क रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ । प्रत्येक वर्ष नगरपालिकाले सडकबत्ती जडान गर्दै आए पनि आवश्यक मर्मत नगर्दा अलपत्र पर्ने गरेको स्थानीयवासीको गुनासो थियो ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?