Trending
>>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा >>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान


१२ जेठ, कञ्चनपुर । जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त) सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नगरपालिका क्षेत्रमा पुग्ने जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति गर्न थालेपछि त्यस्ता क्षेत्रमा सडकबत्ती जडान गर्न थालिएको हो ।

“जङ्गली हात्ती उज्यालो भएको क्षेत्रमा जान डराउने गर्दछ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, “उज्यालो भएमा स्थानीय बासिन्दाले टाढैबाट हात्ती आएको देख्न सक्ने भएकाले सतर्कता अपनाउन सक्छन् ।” जीउधनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले बत्ती जडानको काम भइरहेको उनले बताए ।

आर्थिक वर्ष २०७९÷८० को नगरपालिकाको हिउँदे अधिवेशनमा सडकबत्ती जडान शीर्षकमा रु १० लाख बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेटबाट सार्वजनिक खरिद ऐनअनुसार एक सय ७५ वटा सडकबत्ती खरिद गरी जडान गरिएको बताइएको छ ।

नगरपालिकाको ऊर्जा शाखाका प्रमुख सुरेन्द्र भट्टका अनुसार पूर्व–पश्चिम राजमार्गमा ६०, वडा नं १ मा १०, वडा नं २ मा सात, वडा नं ३ मा सात, वडा नं ४ मा नौ, वडा नं ६ मा आठ, वडा नं ७ मा १०, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा आठ, वडा नं ११ मा नौ र वडा नं १२ मा १० थान सडकबत्ती जडान गरिएको छ ।

त्यसैगरी नगरपालिकाबाट आवश्यकता भएका अन्य ठाउँमा थप बत्ती जडान गर्न १० वटा सडकबत्ती जडानको व्यवस्था गरिएको छ । जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्र र पूर्व–पश्चिम राजमार्गलाई लक्ष्य गरी सडकबत्ती जडानको काम भइरहेको नगरउपप्रमुख कल्पना पन्तले बताइन् ।

“राजमार्ग क्षेत्रका नगरपालिकाका मुख्य बजार क्षेत्रमा अवान्छित गतिविधि रोक्न पनि सडकबत्तीले सघाउ पुर्‍याउँछ”, उनले भनिन्, “रातिका बेला सर्वसाधारणलाई आवतजावत गर्न सघाउ पुग्छ, उज्यालो हुने ठाउँमा जङ्गली हात्ती प्रवेश नगर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन सकिने भएकाले सडकबत्ती जडान गरेका छौँ ।”

वडा कार्यालयमार्फत हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा यसअघि नै सडकबत्ती जडान गरिएको थियो। हात्तीलगायत जङ्गली जनावरको आतङ्क रोक्न र सर्वसाधारणलाई सचेत पार्न नगरपालिकाले तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरेको छ । प्रत्येक वर्ष नगरपालिकाले सडकबत्ती जडान गर्दै आए पनि आवश्यक मर्मत नगर्दा अलपत्र पर्ने गरेको स्थानीयवासीको गुनासो थियो ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?