Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित


१२ जेठ, खोटाङ। वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।

हावाहुरीले एउटा आइसिटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए । “दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ”, उनले भने, “हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।”

विसं २०२३ जेठ २ गते स्थापना भएको सो विद्यालयमा गत वर्षको वैशाख ६ गते आएको हावाहुरीले पनि क्षति पुर्याएको थियो । बिहीबारको हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ । हावाहुरीले क्षति पुर्याएको भवनमा केही दिनभित्रै छाना हालेर नियमित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताए ।

बर्सेनि हावाहुरीले क्षति गर्दै आएको सो विद्यालयमा अधिकांश पुरानो संरचनाका भवन रहेकाले कुनै बेला मानवीय क्षतिसमेत हुनसक्ने सम्भावना रहेको अभिभावकले बताएका छन् । बाह्रै महिना हावाहुरी चलिरहने डाँडामा सञ्चालित विद्यालय नजिकै ठूलो पिपलको रुखसमेत रहेकाले दुर्घटनाको जोखिम बढेको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गए राति चलेको हावाहुरीले अन्य ठाउँमा समेत क्षति गरेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा भएको हावाहुरीको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । हावाहुरीले फलफूल, पाक्न लागेको गहुँ, तरकारी बालीलगायतमा क्षति गरेको किसानले बताएका छन् । व्यावसायिक तरकारी खेती गर्ने किसानको टनेललगायतका संरचनामा समेत क्षति गरेको छ ।

 


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?