Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन


१० जेठ, सिन्धुली । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो । यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाइन् ।

कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ ।

“साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गर्नुभएकी स्याङ्तानले भनिन् ।

रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटो कच्ची भएकोमा छ । तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्टा)को बाटो साँघुरो र कच्ची भएकाले साइकल डोहोर्याएर हिँड्नुको विकल्प नभएको उनले बताइन् । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमाछन् । घरबाट विद्यालय पदैल आउजाउ गर्र्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियोे ।

पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन् । “छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो”, सिंहले भपे ।

मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गर्न भ्याए । मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ ।

मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई रु एक लाख दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन् । उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।

उनले भने, “गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पदैल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ । आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ ।”

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले बताए । उनका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दैै लगिने छ ।

छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?