Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

धारापानीमा पर्यटकीय चहलपहल बढ्यो


१० जेष्ठ ,घोराही । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिईन् । बिदाको सदुपयोग गर्दै उनि यहाँ घुम्न आएकि हुन् । चौधरीले भनिन, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।”

यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आए । गर्मीमा शीतलता पाउने आशले उनि यहाँ आएका हुन् । पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ ।

“बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको सङ्ख्या धेरै रहेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भने । दसैँ, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको सङ्ख्या बढी छ । पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ । “यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्”, अधिकारीले भने ।

शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण छ । धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ । अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन् । यहाँ एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपिपल जोडी, एक सय आठ समीका वृक्ष, एक सय आठ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ रहेका छन् ।

दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ । पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ ।

सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ । धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन् । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ । सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृङ्खलासमेत स्पष्ट देख्न सकिन्छ । पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

सुनकोटस्थित भगवतीको मन्दिरसम्म चार हजार नौ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले ओझेलमा परेको छ । पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ । घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ । “आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका छैनन्”, उनले भने । चुरे पहाडको फेदीमा अवस्थित धारापानी समुद्री सतहबाट छ सय ३३ मिटर उचाइमा छ ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?