Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

मनकारी ट्याक्सी चालक : जसले निःशुल्क बिरामी बोक्छन्


६ जेठ, बागलुङ । पश्चिम बागलुङका ट्याक्सी चालक विष्णु काउचा मगर दुई सातापहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे । सधैँजसो बिरामी बोकेर धौलागिरि अस्पताल बागलुङ र पोखराका विभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएन, गलकोटमै ती बिरामीको उपचार होला भनेर ।

अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवासुविधा के–के छन् भनेर बुझ्न थाले । आफैँले अस्पताल पुर्‍याएको बिरामीले उपचारपछि औषधि लिएर फर्किएको देखेपछि काउचा दङ्ग परे ।

अस्पतालको सेवा सुधार भएको विषयमा सबै जानकारी पाका काउचा आफूले ल्याएको बिरामीले समयमा उपचार पाएपछि खुसी मात्रै भएनन्, तत्कालै समाजसेवी निर्णयसमेत गरे । बडिगाडबाट तोकिएको भाडा लिएर अस्पताल बिरामी पुर्‍याएका काउचाले अब भने निःशुल्क बिरामी बोक्ने निधो गरेका छन् ।

“अस्पताल पुगेपछि थाहा भयो यहाँ राम्रो उपचार हुँदोरहेछ”, काउचा भन्छन्, “गाउँमै सेवा पाए किन बाहिर जानु, विपन्न बिरामीका लागि त झन् राम्रो सुविधाको कुरा भयो, सवारीको असुविधा देखेर मैले निःशुल्क बिरामी बोक्ने निर्णय गरेँ ।” काउचा अहिले हप्तामा एक दिन गलकोटको हटिया बजारदेखि हरिचौरस्थित अस्पतालसम्म निःशुल्क बिरामी ओसार्छन् । अस्पताल पुगेपछि आफू निकै प्रभावित भएको काउचा बताउँछन् । हरेक सोमबार उनले निशुल्क बिरामी बोक्ने निधो गरेका छन् । यो निर्णयले उनलाई धेरै गलकोटेले हौस्याएका छन् ।

गलकोटको हटिया बजारदेखि १५÷२० मिनेट कच्ची सडकको यात्रा गरेपछि नगर अस्पताल पुगिन्छ । मध्यपहाडी लोकमार्गमा चल्ने सवारी चढेर हटिया बजार झर्नेहरूका लागि ट्याक्सी, पिकअप भ्यान वा टेम्पो रिजर्भ गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । भाडादरमा एकरूपता नभएकाले बिरामीले अस्पताल पुग्न असुविधा महसुस गर्दै आएका थिए । यही अवस्था देखेपछि निःशुल्क बिरामी बोक्ने निर्णयमा पुगेको काउचा बताउनुहुन्छ । “अस्पतालमा बिरामीको उपचार भइरहेको देखेपछि सहयोग गरौँ भन्ने लाग्यो, आफूसँग गाडी भएकाले बिरामी बोक्ने निर्णय गरेँ”, उनले नेभे ।

काउचाको यो निर्णयको चर्चा नसकिँदै अर्का मनकारी ट्याक्सी व्यवसायीले पनि निःशुल्क सेवा दिने निर्णय गरेका छन् । मानवसेवा नै धर्म हो भन्दै गल्कोट–२ तोरीखोलाका रामु पुनले हरेक बिहीबार निःशुल्क बिरामी बोक्ने निर्णय गरेका हुन् । उनको ट्याक्सी चल्ने क्षेत्र वडा नं २ नरेठाँटी हो । नरेठाँटीबाट निःशुल्करूपमा बिरामीलाई अस्पताल पुर्‍याउने पुनले बताए ।

“विष्णुजीले हटियाबाट बिरामी निःशुल्क बोक्न थाल्नुभयो, बूढाबूढी, बिरामी र अपाङ्गता भएकाहरूले अस्पताल पुग्दा भोगेको सास्ती देखेर मलाई पनि सेवा गरौँ भन्ने लाग्यो”, पुनले भने, “हप्तामा छ दिन त मैले कमाइ हाल्छु, एक दिन सेवामा लाग्दा के नै सकिन्छ र रु” उहाँले पहिलो दिन नै नरेठाँटीबाट २० जना बिरामी अस्पताल पुर्‍याएका छन् ।

दुवै जनाले बिहान १० देखि दिउँसो ४ बजेसम्म आफ्ना ट्याक्सी बिरामीका लागि तयारी अवस्थामा राख्ने गरेका छन् । । बिहान–बेलुका भने भाडामा आफ्ना ट्याक्सी चलाउँछन् । “अस्पताल र हटिया बजारको दूरीका कारण बिरामीले मर्का महसुस गर्नुभएको थियो, अर्को कुरा सवारीमा अस्पताल पुग्दा भाडादरमा एकरूपता नहुँदा समस्या थियो”, अस्पतालका प्रमुख डा राजेश पौडेलले भने, “अहिले युवाहरूले समाजसेवी भाव राख्नुभएको छ, यसले बिरामीलाई धेरै सहयोग गर्छ ।” अस्पतालले सेवा विस्तार गर्दा बिरामीको चाप बढेको उनले बताए । तर पछिल्लो समय उपचार सेवाभन्दा पनि बिरामीले सडकको सहजता खोज्ने गरेका छन् ।

गलकोट नगर अस्पताल पुग्दा बिरामीको उपचार निःशुल्क हुने तर सवारी भाडाले मात्रै ढाड सेक्ने अवस्था थियो । युवाहरूको निःशुल्क ट्याक्सी सेवाको निर्णयले कैयौँ बिरामीलाई राहत भएको छ ।

गलकोट नगरपालिकाले नै अस्पतालसम्म पुग्ने भ्यान वा टेम्पो सेवा सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको डा पौडेलले बताए । हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल सञ्चालनमा आएपछि पौडेल सहितका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।


प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?