Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
२० कार्तिक २०८३, शुक्रबार
२० कार्तिक २०८३, शुक्रबार

कैलाली कञ्चनपुर रेबिजको जोखिममा


५ जेष्ठ ,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रेबिज रोगको जोखिम बढेपछि रोकथामका लागि रेबिजविरुद्धको खोप अभियान थालिएको छ । रेबिज रोकथामका लागि पछिल्ला समय कैलालीमा मात्रै तीन हजारभन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

“रोगको रोकथामका लागि सचेतना कार्यक्रमसँगसँगै खोप अभियान थालिएको छ”, भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले धनगढीमा आज भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भने, “सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीसहितका जिल्लाका लागि रेबिजविरुद्धको खोप अभियान चलाउन छ हजार मात्रा खोप पठाएको छ ।”

रोग अन्वेषण प्रयोगशाला धनगढीमा गएको तीन महिनामा रेबिजको शङ्का लागेका २८ पशुचौपायाको नमूना परीक्षण गर्दा २७ को नतिजा पोजेटिभ देखिएको जनाएको छ । पछिल्लो समयमा धनगढीसहितका क्षेत्रमा कुकुरको बन्ध्याकरण गर्ने काम पनि भइरहेको छ । यो अवधिमा रेविज सङ्क्रमित कुकुरले झण्डै एक हजार पाँच सय चौपायालाई टोकेको बताइएको छ ।

रेबिज रोगका कारण गएको माघ महिनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ का युवक ललित विष्टको मृत्यु भएको थियो । रोग नियन्त्रणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्र कैलालीद्वारा आयोजित रेबिज रोग नियन्त्रणसम्बन्धी उक्त छलफलमा कार्यालय प्रमुख डा अवस्थीले मानिसले लापरवाही गर्दा रेबिजको जोखिम बढेको बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले रेबिजको स्थायी समाधान खोज्नका लागि पालिका तहले योजना बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रमका सहभागीले रोगको रोकथामका लागि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । पशुपक्षीबाट मानिसमा र मानिसबाट पशुपक्षीमा सर्ने यो रेबिज सङ्क्रमित पशुको टोकाइबाट सर्ने गर्छ । सङ्क्रमित कुकुरको टोकाइबाट रोग सर्ने दर नेपालमा निकै बढी छ । कुकुर, बाख्रा, गाईभैँसी र स्यालबाट यो रोग सर्ने गर्छ ।

पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा नरेश जोशीले जैविक विविधताको विनास, सहरीकरण, जलवायु परिवर्तनजस्ता कारणले समाजमा उत्पन्न भइरहेका रोगका नयाँ–नयाँ भाइरसका कारण रेबिजलगायतका जुनोटिक रोगको समस्या पनि बढ्दै गएको बताए । दूध उमालेर मात्र दही/मही बनाउने, काँचो मासु नखाने, सरसफाइमा ध्यान दिने र कुकुरलगायतका पशुचौपायाको टोकाइबाट बच्ने उपाय अपनाउन सकेमा यो रोगको रोकथाम हुनसक्ने पशु चिकित्सकले बताएका छन् ।

नेपाल पनि सदस्य रहेको ‘ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोल’ नामक विश्वव्यापी सञ्जालले सन् २०३० मा विश्वभर कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानिसको मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?