Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भरतपुर अस्पतालः १ अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार


५ जेठ, चितवन । भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।

अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ निकासा भएको थियो । आर्थिक वर्ष २०७७-७८ मा रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ निकासा भएको थियो । आर्थिक वर्ष २०७६-७७ मा यो रकम रु २३ करोड ८८ लाख चार हजाार सात सय ५० थियो । आव ०७५÷७६ मा रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ थियो भने पहिलो वर्ष २०७४-७५ मा रु एक करोड २८ लाख ९२ हजार दुई सय २० थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक रु सात लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उनको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिए । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए ।

चालु आर्थिक वर्षमा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु १७ करोड ९८ लाख मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उहाँले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए। बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उनको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेलले बताए । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए। उनले भने, “हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।” अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ ।

अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिए । पौडेलले भने, “बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।” अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिए ।

स्वास्थ्य बीमामा पाँचजना परिवारले रु तीन हजार पाँच सय तिरेर एक वर्षभर रु एक लाखसम्मको सेवा लिँदै आएको छन् । विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?