Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत सुरू


५ जेठ, खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ ।

सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रको ठेक्का लिएको भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट खर्च हुने गरी सडक मर्मत सुरु गरेको हो ।

खोटाङ क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमबार दुईवटा टिफर र एउटा जेसिभी निर्माणस्थल पठाएको पाइएको छ । सहज आवतजावतका लागि महुरे–सिम्पानी सडकखण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्ने लगायतका काम सुरु गरिएको सो सडक विभागका कार्यालयका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताए ।

कालोपत्रको अवरुद्ध काम पुनः सञ्चालन गर्न तथा सो सडकखण्डमा नियमित आवतजावत गर्ने वातावरण बनाउन पटकपटक पत्र पठाएर ताकेता गर्दा पनि छ÷सात महिनासम्म ठेकेदार सम्पर्कमा नआएपछि उसकै धरौटी रकम काटिने गरी सडक मर्मतसम्भार सुरु गरिएको खकुरेलले बताए । सिम्पानी (राजापानी) सडक मर्मत गर्न १०÷१२ दिन समय लाग्ने कार्यालयले जनाएको छ ।

महुरे–सिम्पानी सडक कालोपत्रको ठेक्का सम्झौता गर्नेक्रममा भारत कन्ट्रक्सन÷सिद्धी शाहीले विभागको कार्यालयमा करिब रु एक करोड धरौटी रकम जम्मा गरेको जनाइएको छ । सडक मर्मत तथा सुधारका क्रममा त्यही ठेकेदारले जम्मा गरेको धरौटीबापतको रकम खर्च गरिने सडक विभागले जनाएको छ ।

गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट निर्माणसम्बन्धी सम्पूर्ण उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनी गत माघ ४ गते क्रसरकै सामान उठाएर हिँडेको थियो । “निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गर भनेर पटकपटक चिठ्ठी लेखियो, ताकेता गरियो । सम्पर्कविहीन भएपछि राज्य त यथास्थितिमा रहन सक्दैन”, उनले भने, “हामीसँग एउटै उपाय थियो, त्यही उपायअन्तर्गत धरौटी रकमबाट खर्च गर्ने गरी काम सुरु गराएका छौँ । बेलाबेलामा मर्मत गरिदिएको भए यस्तो स्थिति आउने थिएन । अहिले ठेकेदारको अत्तोपत्तो छैन । बेपत्ता छ । गर्नुपर्ने उसैले हो । उसले नगरेपछि बाध्य भएर हामीले यो बाटो अपनाएर मर्मत गर्नुपरेको हो ।”

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडकखण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्म (२७ किलोमिटर) सडकखण्डको ठेक्का देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीको जिम्मामा छ तर, दुवै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले चरम लापरवाही देखिएको छ ।

उता, मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डेको सेखुवा– चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका ठेकेदार काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन बनेका छन् । कालोपत्रको जिम्मा लिएका भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धी शाही जेभी काठमाडौँका ठेकेदार सम्पर्कविहीन भएपछि गत चैत २५ गते यता उक्त सडकखण्ड कालोपत्रको काम ठप्प छ ।

काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलीखेलका इन्जिनियर दिपेश मनकर्मीले जानकारी दिएका छन् ।

कालोपत्रको काममा ढिलासुस्ती भएको जनाउँदै आयोजनाको कार्यालयले विसं २०७९ मङ्सिरमा ठेक्का अन्त्य गर्न सिफारिस गरेलगत्तै काममा फर्किएको ठेकेदार पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले जनाएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?