Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

कफी खेतीमा जोड दिँदै खानीखोला


५ जेष्ठ ,काभ्रे । खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि) महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउछन् । उनले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताए । “एक वर्षमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम भएका छन्”, थिङले भने ।

सो अवधिमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न मन्त्रिपरिषद्बाट जग्गा स्वीकृत गर्ने काम भएको छ । कक्षा १ देखि १० सम्मका असहाय बालबालिकाका लागि आवासिय शिक्षणको व्यवस्था गरिएको छ । ‘जसको उत्पादन : उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्दश्यले कफीमा प्रति किलो रु ३५ को दरले अनुदान दिइएको छ । “खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्न प्राथमिकताका साथ काम गरेका छौँ”, उनले भने ।

खानीखोला–३, ४ र ५ को वडा भवन निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको छ । सुस्त गतिमा निर्माणाधीन बाग्मती खोलास्थित सिक्रेदोभानमा पक्की पुल निर्माण तीव्र पारिएको छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्यचौकी भवन निर्माण, यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलो पटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको सुरुआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुनेगरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआत गरिएको अध्यक्ष थिङले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले एक वर्षको अवधिमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै गएर स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधिसमेत वितरण गरिएको छ । गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा/डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेबिज सङ्क्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण समेत गराएको छ ।

गाउँपालिकाले बालविवाह न्यूनीकरण, दलित, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकका क्षेत्रमा आउँदो वर्ष थप योजना बनाइने जनाएको छ । गाउँपालिकाले कफी खेतीका क्षेत्रमा भने दिगो आयस्रोतका रुपमा छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान गत वैशाख तेस्रो साता वितरण गरेको थियो ।

सबै कृषक समूहलाई रु पाँच लाख वितरण गरिएको छ । कफी किसानलाई प्रोत्साहन दिन चालु आवमा रु ३५ लाख विनियोजन गरिएको अध्यक्ष थिङले बताए । “कृषकलाई ३५ हजार बिरुवा वितरण गर्ने योजना छ”, उनले भने । यस वर्ष १५ हजार किलो कफी उत्पादन भएको छ । गाउँपालिकाले कृषकलाई उत्पादितमध्ये एक किलो बराबर रु ३५ अनुदान दिने निर्णय गरेको छ । यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कृषकले कफीका लागि अनुदान पाएका छन् ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?