Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका


३ जेठ, पोखरा । पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो ।

तालिमका लागि छनोट भएका दुई सय ४० जनाका लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको थियो । दश विधामध्ये पञ्जेबाजा बजाउने र बारिस्ताको तालिम सुरु भइसकेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

दश विधाअन्तर्गत पञ्चेबाजा बजाउने, सिलाइकटाइ, ब्युटी पार्लर, मन्टेश्वरी, सुनचाँदीका गहना निर्माण, भाषा तालिम, एसी जडान, कुक, बारिस्ता, प्लम्बिङलगायत छन् । विभिन्न सङ्घसंस्थासँगको समन्वय तथा महानगरपालिकाको लगानीमा तालिम सञ्चालन हुने कार्यकारी अधिकृत अधिकारीले बताए ।

तालिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र कतिपय गण्डकी बहुप्राविधिक शिक्षालयको समेत पाठ्यक्रममा आधारित हुनेछ । तालिम एक सय ६० देखि तीन सय ९० घन्टासम्मका हुने कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र रोजगार सृजना गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । “महानगरपालिकाभित्र स्वरोजगार सृजना गर्ने अनि तालिमका विभिन्न अवसर सृजना गर्ने हाम्रो उद्देश्य हो”, प्रमुख आचार्यले भने, “तालिमपश्चात् आवश्यक प्राविधिक सहयोग गर्ने साथै आवश्यक परेको खण्डमा ‘स्टार्ट अप’मा बीउ पूँजीका लागि हामीले सहयोग गर्छौं ।”

सानो लगानीबाट पनि व्यावसायिक सफलताको लामो यात्रा पूरा गर्न सकिने उल्लेख गर्दै प्रमुख आचार्यले आफूले आर्जन गरेको ज्ञानको व्यावहारिक उपयोगमा जोड दिए । जागिरे मानसिकताले व्यक्तिको जीवनमा सार्थक परिवर्तन ल्याउन नसक्ने जनाउँदै स्वरोजगारसहितको उद्यमी बन्ने सपना देख्नु आवश्यक रहेको उनले बताए ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?