Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण


३ जेष्ठ ,म्याग्दी । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् ।

सेभेन समिट ट्क्सरेमार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्क्सरेका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए ।

उनीहरूले मङ्गलबार बिहान ७ः३० बजेको समयमा धवलागिरि आरोहण गरेका हुन् । दुवैजनाले शेर्पाको सहयोगबिना हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ । आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाइमा स्किसमेत गरेका थिए ।

दुवैजना एमएडी स्कि परियोजनाअन्तर्गत धवलागिरि हिमाल आरोहण गर्न गएका थिए । गत चैत अन्तिम साता आधार शिविर पुगेका अन्य आरोही पनि धवलागिरिको चुचुरो नजिकै पुगेका बताइएको छ ।

धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन् । स्पेनका ८३ वर्षीय कालोर्स सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् ।

सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका छन् । सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरिमा आरोही लगेका हुन् । चैतको अन्तिम साता धवलागिरि गएका आरोही प्रतिकूल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए ।

वैशाख अन्तिम हप्तादेखि मौसममा सुधार आएपछि आरोही चुचुरोतर्फ लागेका थिए । पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले वैशाखमा धेरै हिउँ परेकाले आरोहणमा ढिलाइ भएको बताए ।

सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धवलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेका थिए ।

पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोही काठमाडौँबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् ।

आधार शिविरसम्म पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन् । अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धवलागिरि पदमार्गको यात्रा चुनौतिपूर्ण मानिन्छ ।

यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविर पुगेका छन् । धवलागिरि हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।


प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?