Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

रसुवामा आयुर्वेद उपचार प्रभावकारी


२९ वैशाख, रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी  यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा  आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् ।

सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध हुन थालेकाले उपचार गराउनेको सङ्ख्या बढ्न थालेको छ । विसं २०५७ मा धुञ्चेमा जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो । उक्त केन्द्रले औषधिका साथै शारीरिक व्यायामलाई पनि जोड दिँदै आएको छ । पछिल्लो समय कार्यालय प्राङ्गणमा नियमित व्यायाम गराउन थालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

गत साउनदेखि हालसम्म चार हजार दुई सय १५ महिलासहित सात हजार आठ सय नौ जनाले आयुर्वेदिक सेवा लिएका छन् । जिल्लावासीको आकर्षण बढ्न थालेकाले जङ्गलमै खेर गइरहेका जडिबुटी उपभोग सम्बन्धी प्रशिक्षण दिनुपर्ने आवश्यकता बढेको स्वास्थ्यकर्मीको भनाइ थियो ।

उपचारका लागि गानुगोलालगायत पेटसम्बन्धी, हाडजोर्नी तथा नसा, मलद्वार, पाइल्स, फिस्टुला, फिसर, मधुमेह, उच्च रक्तचाप, थाइराइट, दम, पिनास, माइग्रेन, टाउको दुख्नेलगायत विरामी आउने गरेको  उक्त केन्द्रका निमित्त प्रमुख डा चन्द्रवली शाहले बताए ।

उनले नागरिकलाई प्रभावकारी उपचार दिने उद्देश्यले औषधिसहित स्वास्थ्यकर्मी तयार गरिएकाले कुनै रोग लागेमा वा लाग्न सक्ने सङ्केत देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन सबैलाई आग्रह गरे ।

“रोग लाग्न नदिन प्रवर्धनात्मक स्वास्थ्य सेवा अन्तरगत स्वस्थ्य जीवनशैली अपनाउने उद्वेश्यले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसाथ गर्दै आयुर्वेद उपचारलाई प्रभावकारी बनाउदै गरिएको छ”, डा शाहले भने । सदरमुकाम धुञ्चेस्थित साविक कृषि विकास कार्यालयको भवनबाट आयुर्वेद सम्बन्धी उपचार सेवा प्रदान भइरहेको छ ।

उपचारका लागि धामीझाँक्रीमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको र  आयुर्वेदिक औषधि सेवनले कुनै असर नगरी रोग निको पार्ने भएकाले यसतर्फ आकर्षण बढेको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले बताए ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?