Trending
>>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता >>   नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम >>   हेटौँडामा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु) >>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

सेनाद्वारा अन्नपूर्णबाट तीन हजार किलो फोहर सङ्कलन


२७ वैशाख ,म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो ।

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए । सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए ।

क्याप्टेन भीमबहादुर भुजेलसहितको टोली आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेका थिए । एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर सङ्कलन भएको टोलीले जनाएको छ ।

कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ । नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको थियो ।

आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौँ लगिएको हो । आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

“आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उनले भने, “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।”

हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई रु १५ लाख बजेट सहयोग गरेको छ । सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ ।

गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो । हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश पनि गएकाले सेनाले सफाइ अभियान चलाएको हो ।

सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर सङ्कलन गरेको थियो ।


प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?