Trending
>>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै
Logo
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

‘सीप त छ, बेच्न बजार छैन’


कमलामाई (सिन्धुली), ४ माघ (रासस) : सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पटिया बिक्री हेतो त फेरी बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु) ।” केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो । यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ”, उहाँले भन्नुभयो ।

दनुवारको पाँच जनाको परिवार छ । श्रीमान् रु दुई लाख ऋण गरेर साउदी अरब जानुभएको हो । दुई वर्ष बितिसक्दा विदेश जाँदाको ऋण तिर्न सक्नुभएको छैन । तीन सन्तानको पालन पोषणलगायत घरायसी खर्च टार्न उहाँलाई यति बेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहनु भएकी दनुवारको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ । दनुवारले मात्रै होइन, उक्त समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भन्नुभयो, “पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।” उहाँले तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनुहुन्थ्यो । ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफँै काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, एक दशकअघिको समय सोम्नीले सम्झिनुभयो ।

दिनमा पाँच वटासम्म मान्द्रो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । सोम्नी शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गर्नुहुन्छ । “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, ‘त्यत्तिबेला जतिवटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन । मान्द्रो बन्न छोड्दै गएका छन्, मैले पनि छाडे ।” मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको सोम्नीले बताउनुभयो । उहाँसँग मान्द्रो र थरिथरिका डालो बनाउने सीप छ । गदँै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थाल्नुभएकी सोम्नी उपयुक्त कामको खोजीमा हुनुहुन्छ । दनुवार समुदायको परम्परागत तथा पुखौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उहाँकोे भनाइ छ ।

स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई/चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन । अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसार नपाउँदा लोप हुँदै गएको छ । बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर (दनुवार)ले नजिकै बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउन प्लास्टिकको किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको रु १५ हजारदेखि रु २० हजारसम्म कमाउँथे । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु ? आफूलाई ओछ्याउन बजारबाट प्लास्टिकको विछ्याउना किनेर ल्याएको छु ।” यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उहाँले धारणा छ । मान्द्रो मात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छ ।

बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापन समेत नहुँदा दनुवार समुदायका महिलाले पुखौँदेखि गदँै आएको पेसा लोप हुने अवस्थामा पुगेकोे दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर (दनुवार)ले बताउनुभयो । ‘दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पेशा लोप हुन थालेको हो”, उहाँले भन्नुभयोे । पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लामा बिक्री हुने गरेको उहाँ सम्झिनुहुन्छ । प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र बाँसका सामग्रीबनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसायसंकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादन अत्यन्तै न्यून हुने गरेको उहाँले बताउनुभयो । “पहिला बाँसका सामग्री बनाउने जनशक्ति धेरै थियो । अहिले कम छ”, उहाँले भन्नुभयो, “अहिलेका युवा पुस्ता परम्परागत काममा चासो देखाउँदैनन् ।”


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?