Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन


२४ वैशाख ,त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गरे ।

सो अवसरमा उनले बुद्धपछिको बुद्ध भगवान्का रूपमा सम्मानित भगवान् पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । “दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उनले भने, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौँ । त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।”

एक हजार दुई सय वर्षअघि बुद्धधर्मको प्रचारका लागि विशेष गरेर तिव्बत र नेपाली भूमिमा समेत योगदान पु¥याउनुभएका ‘गुरु पद्मसंभव’लाई बौद्ध धर्मावलम्बीले सिद्धार्थ गौतम बुद्धपछिको ‘दोस्रो ठूलो भगवान्’को अवतारका रूपमा पुज्ने गरेका छन् । बेतिनीस्थित नाम्सापुरानमा करिब १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति निर्माणका लागि रु ७० लाख २० हजार लगानी भएकाले अझै थप व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले बताए ।

उनका अनुसार दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत करिब रु ३८ लाख प्राप्त भएको र बाँकी रु ३२ लाखभन्दा बढी रकम स्थानीयवासीले चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको हो । “बेतिनीका छ सयभन्दा बढी घरधुरीको साझा सम्पदाका रूपमा निर्माण गरिएको पद्मसंभवको मूर्ति नै यस क्षेत्रको पहिलो र बौद्धमार्गीको एकमात्र आस्थाको केन्द्र हो”, दुप्चेश्वर गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका उनले भने, “पद्मसंभवको मूर्तिसँगै अब प्राचीन तथा ऐतिहासिक इतिहास बोकेको यहाँको छेवाङ ग्लान ङारछ्यालिङ गुम्बाको निर्माण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रको स्थापना गर्ने लक्ष्य छ ।”

उक्त स्थान नजिकै कुण्ड र डम्फूपार्कको समेत स्थापना गरिएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मुबिन्द्रसिंह तामाङले बताए । बुद्ध जयन्ती पर्वका अवसर बनाई विशेष पूजाआरधनासहित निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापनमा बौद्धगुरु प्रमुख लामा डोल्पु गुम्चेन रिन्पोछेसहित नौ जना लामा गुरुबाट बुम्पा, छोक छ्याङ, बुन्छु, रिल्बु, दादर गर्दै वाङ (प्रसाद र दीर्घायुको कामना) वितरण गरिएको थियो ।

तीन दिनसम्म सञ्चालित पूजाको समापन आज हुदैछ । उक्त समारोहमा शनिबारसम्म पाँच हजार बौद्धमार्गीको सहभागिता रहेको गुम्बाका प्रमुख लामा पासाङ लामाले जानकारी दिए । जिल्लाको विकट र तामाङ–शेर्पा समुदायको बसोबास रहेको उक्त स्थानसम्म पुग्न सडक यातायातको पहुँच कमजोर भएकाले पद्मसंभवको मूर्ति प्राण प्रतिस्थापन गर्न शनिबार अर्थमन्त्री डा प्रकाशरण महत हेलिकोप्टरमार्फत कार्यक्रम स्थलमा पुगेका थिए ।

उक्त अवसरमा उनले सम्बोधन गर्दै सो स्थानसम्म पुग्ने निर्माणाधीन त्रिशूलीस्थित गङ्गटेबाट समुन्द्रटार हुदै गोल्फुभञ्याङसम्म जोड्ने सडक कालोपत्र गर्न आवश्यक बजेट समावेश गर्न लागेको र काठमाडौँबाट शिवपुरी (खोलेगाँउ, महाकाली) हुँदै सिधैँ दुप्चेश्वरसम्म पुग्ने सडकको ट्रयाक निर्माण गरिने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी उत्साहित भएका छन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?