Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती


२३ वैशाख, पोर्चुगल । २५६७औँ बुद्ध जयन्तीका अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत् शोभायात्रा निकालिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको संयोजन तथा पोर्चुगलमा रहेका नेपाली सङ्घसंस्थाको सक्रियतामा शुक्रबार लिस्बन सहरमा बृहत् शोभायात्रा निकालिएको हो ।

बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक वेषभूषासहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए । शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो । रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता थियो ।

शोभायात्रापछि मार्तिम मुनिजमा आयोजित कोणसभामा पोर्चुगलका बौद्ध धर्मगुरु गिर्मे लामाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिनुभएको थियो । सो अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभायात्रामा सहभागीलाई धन्यवाद दिँदै बुुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतावासका छविलाल बगालेलगायतले शुभकामना मन्तव्य दिएका थिए । यसअघि शेर्पा किदुग पोर्चुगलको संयोजनमा आन्जुसमा पोर्चुगल तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजापाठसमेत गरिएको थियो ।

विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?