Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौं: उपप्रधानमन्त्री श्रेष्ठ


२३ वैशाख, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरे । उनले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाएका छन्।

“जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु”, उनले भने ।

मानव सेवा आश्रमलाई सरकारबाट हुनसक्ने सहयोगका लागि आजै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । प्रधानमन्त्री स्वयं पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढिरहेका उल्लेख गर्दै उनले राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राख्नुभएको बताए ।

“नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्णरूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु”, उनले भने । आफ्नो जीवनमा एउटा मात्र उद्देश्य मानव सेवा बनाएर अगाडि बढ्न उपभोक्तावादले ग्रस्त आजको समाजमा सजिलो काम नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा निकै महान काम भएको बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले असहाय नागरिकका लागि राज्यले निर्वाह गर्नुपर्ने दायत्वि मानव सेवा आश्रमले पूरा गरिरहेको बताए। “नागरिकका लागि राज्यले गर्नुपर्ने काममा मानव सेवा आश्रमले सहयोगी भूमिका निर्वाह गरिरहेको छ”, उनले भने ।

विसं २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्यका साथ आश्रम अगाडि बढिरहेको छ । अहिले देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा करिब एक हजार छ सय असहाय नागरिकले आश्रय लिइरहेका छन् । अझै झन्डै चार सयको सङ्ख्यामा सहयोगापेक्षी सडक आश्रित मानव रहेका अनुमान गरिएको छ ।

आश्रमका अध्यक्ष रामजी दाहालले कसैले पनि असहाय भएर सडकपेटी र सार्वजनिकस्थलमा बस्न नपर्ने राष्ट्र निर्माणका लागि सरकारको सहयोगी बनेर आश्रमले काम गरिरहेको बताए । सो लक्ष्य हासिल गर्न तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको उनी बताउछन् ।

‘मानव सेवा आश्रम’ले १९ जिल्लामा २३ आश्रम सञ्चालन गरिरहेको छ । मानव सेवाले असहायलाई आश्रय दिने मात्र होइन, अभिभावकत्व, पालन र स्याहारसुसार समेत गरिरहेको छ । आश्रम १० वर्षदेखि सञ्चालित छ । सो अवधिमा सात हजार चार सय ३६ जनालाई सेवा प्रदान गरेको बताइएको छ ।

अहिले मकवानपुर, झापा, मोरङ, सर्लाही, धनुषा, पर्सा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङ, गोरखा, बागलुङ, सुर्खेत र कैलालीमा आश्रम सञ्चालनमा छन् । हालसम्म विभिन्न १३ स्थान सहयोगापेक्षी सडक आश्रित मानवमुक्त क्षेत्र घोषणा भएका छन् ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?