Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै ज्ञापनपत्र


२२ वैशाख ,लुम्बिनी । लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । उनिहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्ने मागसहित आज प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा उक्त कुराको ध्यानाकर्षण गराएका हुन् ।

२५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० मूल समारोहका लागि लुम्बिनी आउनुभएका प्रधानमन्त्री दाहाललाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलले भेटी विमानस्थल पूर्णरुपले सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतारको उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यहीँ भएकाले विश्वका सबै बुद्धिष्ट मुलुकलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकामा त्यो छुट थप एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु ६० अर्ब बढी लगानी भइसकेकोले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने माग गरिएको छ ।

यस क्षेत्रको आर्थिक मेरुदण्डको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडानको व्यवस्थाका लागि माग गर्दै ज्ञापनपत्र बुझाइएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । उनले ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री विमानस्थल पूर्णरुपमा सञ्चालका विषयमा सकारात्मक रहेको र तत्कालै विभागीय मन्त्री सुदन किरातीलाई निर्देशन गरेको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सङ्घको मागप्रति आफू सकारात्मक रहेको तथा विमानस्थलको सञ्चालनका लागि भारत भ्रमणबाट फर्केपछि निजी क्षेत्रका व्यवसायी र सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढने बताएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।


प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?