Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो


सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ । नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन । प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ ।

जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ । सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको भने प्रदेशमा प्रतिनिधित्व छैन । मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । सङ्घीय सरकारमा सहभागी राजनीतिक दलको मधेस प्रदेशमा ६२ सिट पुग्छ । यसरी हेर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ ।

यता स्वतन्त्रबाट पनि छ जनाले जितेका छन् । अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्ट अधिकांशले स्वतन्त्रबाट जितेका हुन् । सरकारमा उनीहरू पनि सहभागी हुने अनुमान गरिएको छ । प्रदेशमा २२ सिटसहित दोस्रो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा जाने देखिएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन् । संसदीय दलको नेताको आकाङ्क्षी बढे प्रदेशसभा सचिवालयले यही पुस १५ गते शुक्रबार प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ । तर प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।

एमालेका मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा नै प्रदेश सरकार नेतृत्वको टुङ्गो लाग्ने जानकारी दिनुभयो । एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उहाँले बताउनुभयो । एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकाङ्क्षी पनि थपिँदै गएका छन् । एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकाङ्क्षी हुनुहुन्छ । त्यसैगरी जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आकलन गरिएको छ । जसपामा पाँच वर्ष मुख्यमन्त्री रहिसक्नुभएका लालबाबु राउत तथा सरोजकुमार यादव, मनिषकुमार सुमन र रामआशिस यादव दलको नेता बन्न आकाङ्क्षी छन् ।

जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायत दलका नेताका लागि आकाङ्क्षी देखिनु भएको छ । दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा सीके राउतलाई दिइएको छ । यता प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न समिति नै गठन गरेको छ । कांग्रेसमा रामसरोज यादव, रामकृष्ण यादव, वीरेन्द्र सिंहलगायत आकाङ्क्षी छन् । अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन् ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?