Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

‘पोखरा स्पोर्टस् अवार्ड’ शनिबार


२० वैशाख, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि गठित मूल आयोजक समितिसहित विभिन्न १३ उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सात विधामा अवार्ड प्रदान गरिनेछ ।

यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडी विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा परेका छन् ।

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर (बागलुङ), फुटबलकी सावित्रा भण्डारी (लमजुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बागलुङ) रहेका छन् । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी (बागलुङ), फुटबलका सुमित श्रेष्ठ (कास्की) र क्रिकेटका सुवास भण्डारी (बागलुङ) रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ (स्याङ्जा), लनटेनिसका नीरज थापा (कास्की) र आइटिएफ तेक्वान्दोका सुरज सुनार (कास्की) छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् ।

यस्तै यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भइसकेको छ । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्युस्टन एजुकेसन, उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिए ।

कार्यक्रमको थप आकर्षणका रूपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुति रहने मञ्चले जनाएको छ । यसैगरी भेटियो सान्नानी सोल्टी बजारमा गीतबाट थप चर्चामा आएका लोकदोहोरी गायक निश्चल दबाडीको गायन प्रस्तुति, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुति, डेमोस्ट्रेसनलगायत हुने जनाइएको छ ।

कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकीलगायत सङ्घसंस्थासँगै विभिन्न सङ्घसंस्था एवं व्यक्तिको सहयोग रहेको मञ्चले जनाएको छ । विसं २०५७ मा खेलकुद पत्रकार मञ्च कास्की  स्थापना भएको हो । देश सङ्घीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाका रूपमा विकास गरिएको छ । हाल ७४ पत्रकार मञ्चमा आबद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?