Trending
>>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु >>   प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी >>   समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा >>   समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि >>   एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु >>   जमानत जफत हुनेमा २,८९० उम्मेदवार , ३५० जनाले एक भोट पनि पाएनन् >>   भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू >>   विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर ऋण स्वीकृत >>   समानुपातिक मतगणना सकियो, सिट बाँडफाँटको प्रक्रिया सुरु हुँदै
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

मोहरेडाँडामा खानेपानीको समस्या


१९ वैशाख ,म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो ।

समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुनले बताए ।

“लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक–एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा मोटरले पानी पम्प गर्न छाडेको छ”, उनले भने, “पम्पिङ सिस्टम बिग्रिएको, आकाशे वर्षा नभएको र हिउँ नपरेको अवस्थामा खच्चरबाट पानी बोकाएर ल्याउने गरिएको छ ।”

एउटा मुहानबाट एक दिनमा करिब पाँच सय लिटर पानी सङ्कलन हुन्छ । सङ्कलन नभएको पानी सोलार पम्पिङ प्रविधिबाट प्रयोग गरिँदै आएको थियो । अर्को मुहान केही तल भिर जराको खोल्सामा छ । यो मुहान अलि ठूलो छ । खानेपानीको अभाव पूरा गर्न पुस–माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेकामा यसपालि हिउँ परेन ।

असोज–कात्तिकको सिजनमा पानी अभाव पूरा गर्न बर्खायामको बलेसी पानी ड्रममा जम्मा गर्ने गरिएको छ । सङ्कलन गरिएको पानीलाई क्लोरिनबाट निर्मलीकरण गरेर खाने/खुवाउने गरिएको छ । सामाजिक अभियन्ता महावीर पुनको अगुवाइमा १३ वर्षअघि गलेश्वर–बाँसखर्क–नागी–महरे–डाँडाखर्क–स्वाता–खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्या पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

सडकका कारण अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि मोहरेडाँडामा पर्यटकको चाप बढेको छ । याममा दैनिक ४०–५० देखि ८० जनाको हाराहारीमा पर्यटक आउने गरेका लजका कर्मचारी पुर्ख पुर्जाले बताए । मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धवलागिरि अन्नपूर्ण, माछापुच्छे्र, मनास्लु हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको मनोरम दृश्यावलोकन, जङ्गल सफारी गर्न सकिन्छ । फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।

नजिकै बस्ती नभएकाले पाहुनाको खाने–बस्ने सुविधाका लागि मोहरेडाँडामा समुदायले ८० जना क्षमताको सामुदायिक लज सञ्चालन गरेका छन् । नेपालको एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मोहरेडाँडामा लजको क्षमता बढाएसँगै दैनिक एक सय जनाभन्दा बढी बास बास्न सक्ने भएको अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।

चारैतिर घना गुराँसको जङ्गल बीचको पहाडको टाकुरामा अवस्थित मोहरेडाँडमा राम्चेबाट केन्द्रीय लाइनको विद्युत् विस्तार गरेर लिफ्ट प्रविधिबाट खानेपानी व्यवस्थापन गर्न पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।


प्रकाशित मिति: १९ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?