Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत छन् सोङ


१८ वैशाख ,त्रिशूली । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् । चीन सरकारले जिम्मेवारी लिएको दरबारसहितको संरचना पुनःनिर्माणको काम ढिलो भइरहेको समयमा आज राजदूत सोङले स्थलगत अवलोकन गर्दै काम सुरुको तयारीमा रहेकाले समयावधिको लक्ष्य र जिम्मेवारीअनुसार सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

“गोरखा भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठवटा संरचनाको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारको भएकाले काम सम्पन्न हुन्छ भन्नेमा ढुक्क हुनुहोस्”, राजदूत सोङले भने, “केही प्राविधिक पक्ष र द्विपक्षीय समझदारी मिलाउनुपर्ने भएकाले मिति यकिन नभए पनि काम छिट्टै सुरु गर्न लागेका छौँ ।”

भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँका आठवटा धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्त्वका संरचनाको पुनःनिर्माण चीन सरकारले गर्ने सम्झौता भएको छ । सोहीअनुसार नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच विसं २०७६ जेठमा ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनःनिर्माण तथा प्रबलीकरण अझै अन्योल अवस्थामा छ । चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको आठवटा संरचनामा साततले दरबारसहित तुलजा भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी (दराबर) रहेका छन् ।

चिनियाँ प्राविधिकहरूबाट भौगोलिक र पुरातात्विक अध्ययन भइरहेको समयमा राजदूतले स्थलगत अवलोकनपश्चात् काम सुरु गर्न लागेको बताएसँगै पुनःनिर्माण अघि बढ्‌ने आशा जगाएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले बताए । उनका अनुसार स्थलगत अवलोकनका क्रममा राजदूतले काम सुरु गर्नुअघि दरबारसम्म पुग्ने करिब आठसय मिटर सडकको पहुँच मार्ग खुला गर्नसहित स्थानीयवासीबाट आवश्यक सहयोग हुनुपर्ने माग गरे ।

“राजदूतले काम सुरु गर्न विभागसँग थप नयाँ समझदारीदेखि यहाँ देखिएका समस्या समाधानमा सहयोग गर्नुपर्छ भन्नुभएको छ”, कार्यालय प्रमुख फुयालले भने, “ती विषय पूरा गर्न हामी (नेपाली पक्ष)तयार छौ ।”

विसं २०७६ साउनमा पहिलो पटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा (तलेजु) भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएको थियो । त्यसलगत्तैको नयाँ वर्ष (सन् २०२०) मा फर्कने भनेर गएको चिनियाँ प्राविधिक टोली गत वर्ष मात्रै केही आए पनि पुनःनिर्माणको काम भने अझै सुरु हुन बाँकी छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ ।

उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो । पुनःनिर्माणको पर्खाइमा रहेको दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचनाहरु राखिएको छ ।

खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएको हो । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?