Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

पाठ्यपुस्तक अभाव भएमा सूचना दिन सरकारको आग्रह


१७ वैशाख, काठमाडाैँ । नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज पत्रकार सम्मेलन गरी यही वैैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यमा माथिल्लो निकाय, सम्बन्धित निकाय र सञ्चार क्षेत्रबाट सकारात्मक सहयोग मिलेको जनाएको छ ।

मन्त्रालयका अनुसार यस शैक्षिकसत्रका लागि प्रक्षेपित कक्षा १ देखि ५ सम्म जम्मा २३ लाख ९२ हजार छ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार चार सय ५० का लागि आवश्यक पुस्तक जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी प्रेसबाट उत्पादन गराइएको छ । जनकशिक्षाबाट कक्षा ६ देखि १० सम्मका लागि एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रकबाट कक्षा १ देखि ५ सम्मका लागि एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मुख्यसचिव शङ्करदास वैरागी, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट भएको निर्देशन र पहलका कारण यस वर्ष सहजरुपमा उत्पादन र बिक्रीवितरण भएको बताए । जनकशिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उत्पादन क्षमतामा वृद्धि भएकाले आगामी वर्षका लागि पनि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक समयमै छपाइ र बिक्रीवितरणका लागि तयार रहेको स्पष्ट गरे ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले परिवर्तन गरिएका पाठ्यक्रममा बाहिरी आवरण मात्रै परिवर्तन गरेर भित्री पृष्ठमा पुरानै विषयवस्तु हुबहु छापेर बिक्री गर्ने आठ्राई प्रकाशन र ओएसिस प्रकाशनलाई स्पष्टीकरण सोधिएको र कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक चूडामणि पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको र भर्ना अभियानको समग्र अगुवाइ स्थानीय तहले गरिरहेको बताए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?