Trending
>>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल >>   उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता >>   ‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’ >>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

फरार सहकारी सञ्चालक अझै पक्राउ परेनन्


१७ वैशाख, वीरगन्ज । बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगन्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।

वीरगन्ज महानगरपालिका–१७ रामगढवास्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राहुल सिंह र कोषाध्यक्ष बलराम साहलगायतका पदाधिकारी बचतकर्ताको रु १० करोडभन्दा बढी रकम लिई फरार भएका छन् । सहकारीमा रानी घाट, अशोकवाटिका, श्रीपुर, रामगढवालगायतका क्षेत्रका बचतकर्ताले बचत गर्दै आएका थिए ।

आफूले बचत गरेको रकम लिएर सहकारीका सञ्चालक फरार भएपछि बचतकर्ता चिन्तित बनेका छन् । यस विषयमा वीरगन्ज महानगरपालिकादेखि जिल्ला प्रहरी कार्यालयसम्म धाए पनि आफूहरूले न्याय नपाएको बचतकर्ताको गुनासो छ ।

‘हामीले सहकारी संस्थाका पदाधिकारी बचत रकम लिई फरार भएको विषयमा महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्सामा गत २०७९ चैत ८ गते नै जाहेरी दियौँ’, वीरगन्ज रानी घाटका बचतकर्ता कुन्दनकुमार गुप्ताले भने, ‘तर अहिलेसम्म सहकारी संस्थाका कुनै पनि पदाधिकारी तथा कर्मचारी पक्राउ पर्न सकेका छैनन्, जसका कारण हाम्रो पैसा फिर्ता आउने कुनै सुनिश्चित छैन ।’

सहकारी सञ्चालक फरार भएको सन्दर्भमा उजुरी लिएर प्रहरीमा जाँदा महानगरपालिकामा जानु भन्छ, महानगर पुग्दा प्रहरीमै निवेदन दिनुस् भनिरहेको उनको गुनासो छ ।

‘दुःख गरेर भविष्यको सपना बुनेर बचत गरेको रकम लिएर सहकारी सञ्चालक फरार भएपछि जमिन नै भासिएको महसुस भइरहेको छ’, प्रियान्सुकुमार गुप्ताले भने, ‘बचत रकम डुब्दा यति बेला न खाना खान मन लाग्छ, न कोहीसँग बोल्न पनि मन मान्दैन ।’ जति बेला पनि चिन्ताले सताइरहेको छ, उनले दुखेसो पोखे । उनले सहकारीमा रु २० लाख बचत गरेको छ ।

‘करिब तीन–चार महिनादेखि नै सहकारीमा शङ्कास्पद रूपमा कार्य भइरहेको थाहा पाएपछि बचत भएको रु १० लाख रकम झिक्न सहकारीमा गएको थिएँ’, लिलमदेवी दासले भने, ‘कोषाध्यक्ष साहले बचत फिर्ता पाउनुहुन्छ हामी भाग्ने होइन भन्दै विश्वास दिलाए । अहिले उनीहरू सम्पर्कमा छैन् ।’

सहकारीका सञ्चालक फरार भएको भन्दै १० जना पीडित बचतकर्ता निवेदन लिएर महानगरपालिका आएको र पीडितलाई न्याय दिलाउन कसरी अघि बढ्नेमा आफूहरू पनि अन्योलमा रहेको वीरगन्ज महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिलकुमार कर्णले बताए ।

‘सर्वसाधारणको रकम डुब्दा हामी अत्यन्तै दुःखी छौँ’, प्रमुख कर्णले भन्नुभयो, ‘तर हामीसँग न त प्रहरी छ, न फरार भएकालाई खोजी गर्ने कुनै उपाय छ, त्यसैले हामी पीडितको निवेदनसहित जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाइदिएका छौँ ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितबाट जाहेरी आएदेखि नै सहकारीका फरार सञ्चालकको खोजी भइरहेको जानकारी दिए ।

पीडितको जाहेरी सन्दर्भमा के सम्बन्धी मुद्दा प्रभावकारी हुनसक्छ त्यस विषयमा जिल्ला सरकारी वकिल कार्यालयसँग पनि छलफल भइरहेको जानकारी दिदै प्रहरी नायब उपरीक्षक गिरीले सरकारी वकिलसँग सल्लाह लिएर मुद्दा अघि बढाइने बताए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?