Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

हर्षोल्लासका साथ मनाइयो जानकी नवमी


१७ वैशाख, जनकपुरधाम । त्रेता युगमा वैशाख शुक्ल नवमी दिन जगज्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिवार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ ।

नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धूमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिवार भने जानकी मन्दिरमा विशेष पूजा, दीपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो ।

तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न आफैँ खेतमा हलो जोत्न लागेको बेला वैशाख शुक्ल नवमीका दिन माता जानकी धर्तीबाट प्रकट हुनुभएको किंवदन्ती छ ।

त्यही दिनको सम्झना र माता जानकीको सम्झनामा शनिवार बिहानै ऐतिहासिक दूधमती नदीमा शाही स्नान, माता जानकी दिउँसो १२ बजे प्रकट हुनुभएको किंवदन्तीअनुसार जानकी मन्दिरमा प्राकट्य महोत्सव, बेलुका डोला शोभा यात्रा, साँझ दीपावली र राति बधैयागानसहितका कार्यक्रम आयोजना गरियो ।

यस अवसरमा हिन्दु धर्मका विभिन्न सङ्घसंस्था तथा समाजहरूले शनिवार दिउँसो जनकपुरधाममा धार्मिक र्याली निकालेका थिए ।

त्यसै गरी विश्व हिन्दु परिषद् नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा विगत वर्षहरूमा जस्तै अलौकिक कन्या पूजन एवं सम्मान समारोहको आयोजना गरेको परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?