Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

जुम्लामा स्याउ फुलेर बगैँचा सेताम्मे


१६ वैशाख, जुम्ला  यहाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताए ।

अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने गरेका छन् । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायत काममा किसानलाई चटारो परेको स्याउ किसान रावतले बताए । उनले भने, “स्याउका बिरुवा फुलेपछि बगैँचामा सिँचाइ गर्ने स्थानीयलाई भ्याइनभ्याइ छ, बगैँचामा पाँच सय स्याउका बिरुवा फुलेपछि स्याउ बगैँचा सेताम्मे बनेको छ ।” स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा रहेको रावतको भनाइ छ ।

स्याउका फूल फुलेदेखि फल लाग्ने समयसम्म विशेष ख्याल गर्नुपर्छ । “स्याउ हरेक वर्ष सुर्खेत र नेपालगञ्जमा बिक्री गर्न लैजाने गरेको छु, गत वर्ष स्याउबाट झन्डै रु पाँच लाख आम्दानी भएको थियो”, उनले भने । यस वर्ष कम्तीमा रु सात लाख आम्दानी हुने आशा गरेको स्याउ किसान रावतले बताए ।

फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा मान्छे आउने गरेका कनकासुन्दरी–२ का स्याउ किसान बखतबहादुर बुढाले जानकारी दिए । अहिले जिल्लाका सबै स्याउ बगैँचा फुलेर सेताम्य भएका छन् । पालुवा नपलाउँदासम्म स्याउमा असिनाले क्षति गर्ने कि भन्ने चिन्ताले पिरोल्न थालेको यहाँका स्याउ किसान बताउँछन् ।

बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ । सुक्खा मौसममा स्याउ फुलेर सेताम्य देखिएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउका फूलसँगै रमाउन थालेका छन् । कर्णाली राजमार्ग हुँदै राराताल पुगेका पर्यटक स्याउका फूलसँगै फोटो खिचाउँदै भिडियो बनाउन ओहोरदोहोर गर्ने गरेको स्याउ किसान महेन्द्र बुढाले बताए । अहिले फुलेको स्याउ भदौमा पाकेपछि बगैँचा राताम्मे हुन्छन् ।

यहाँ गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ ।


प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?