Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्थानीय तहबाटै श्रम स्वीकृति पाएपछि वैदेशिक रोजगारीमा जानेलाई सहज


१४ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् ।

पहिलो पटक बेदकोट नगरपालिकाले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका श्रम स्वीकृति दिन सुरु गरेको थियो । नगरपालिकाबाट हालसम्म दुई जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएको रोजगार संयोजक भोजराज अवस्थीले जानकारी दिए ।

“अहिले पुरानालाई मात्रै श्रम स्वीकृति दिइरहेका छौँ, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला चाहिन्छ”, उनले भने, “यस्तो प्रयोगशाला प्रदेशमा पनि छैन, त्यसैले नयाँलाई श्रम स्वीकृति दिन सकिएको छैन ।” उनका अनुसार नयाँ श्रम स्वीकृति लिनेहरुसँग स्वास्थ्य परीक्षण र अभिमुखीकरण भएमा पालिकाबाटै दिन स्वीकृति लिन सकिने छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई हाल बेदकोटमा बसोबास गर्ने गोपाल खडायत र बेदकोट नगरपालिका–१० सिसैयाका केशवराज पन्तले युनाइटेड अरब इमिरेट्स (यूएइ)मा जानका लागि पुनः श्रम स्वीकृति नगरपालिकाबाट पाएको रोजगार संयोजक अवस्थीले बताए ।

“वैदेशिक रोजगारीमा जाने दुई जनाको पुनः श्रम स्वीकृत भइसकेको छ, अरु दुई जनाको प्रक्रियामा छ”, उनले भने, “अनलाइनमार्फत फारम भरेर स्वीकृति लिन सकिन्छ ।”

श्रम स्वीकृतिका लागि सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुनुपर्छ । “पुरानो श्रम स्वीकृति, राहदानी, कार्डलगायत कागजपत्र अनलाइनमा प्रविष्ट गर्नुपर्छ”, रोजगार संयोजक अवस्थीले भने, “रु १४ लाखसम्मको साढे दुई वर्षको बीमा पनि हुन्छ ।”

नगरपालिकाले स्थानीय तहमै श्रम स्वीकृति दिन थालेपछि वैदेशिक रोजगारीमा जानेलाई सहज भएको छ । यसले हजारौँ रकम खर्च गरी काठमाडौँ पुगेर घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सदरमुकामको भीमदत्त नगरपालिकाले पनि वैदेशिक रोजगारमा जान चाहनेलाई नगरको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ ।

भीमदत्त नगरपालिकाले दुई जनालाई सोमबार श्रम स्वीकृति प्रदान गरेको हो । भीमदत्त नगरपालिका–९ का आनन्द सिंह रावत र वडा नं. ८ का भवानसिंह भण्डारीले नगरपालिकाबाट पुनः श्रम स्वीकृति पाएका छन् ।

गत चैत १६ गते मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?