Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन


१४ वैशाख, पोर्चुगल । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको टोली प्रमुख एवं विभागकी शाखा अधिकृत रञ्जिता दाहालले जानकारी दिइन् ।

उनका अनुसार सात सय ६४ जनाको राहदानी हराएको, एक हजार चार सय ४० जनाको नवीकरण, १८ जनाको क्षतिग्रस्त, १३ जना बालबालिकाको नयाँ राहदानी र ७३ जना बालबालिकाको नवीकरण गरी कुल दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको हो ।

पोर्चुगलमा रहेका नेपालीको समस्यालाई ध्यानमा राखेर विशेषगरी यहाँको कागजी प्रक्रियामा रहेका नेपालीलाई राहदानीलगायतका कागजातसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यअनुरूप विभागले शिविर सञ्चालन गरेको शाखा अधिकृत दाहालले बताइन् ।

विभागबाट आएको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा नेपाली दूतावास पेरिस, फ्रान्सका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

पोर्चुगलमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई समाधान गर्ने योजनाअनुसार पहिलो पटक सञ्चालन गरिएको शिविरबाट धेरै नेपाली लाभान्वित भएको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए । नेपाली समुदायको साथ र सहयोगले शिविर उत्साहजनक ढङ्गले सम्पन्न भएको भन्दै महावाणिज्यदूत हमालले सम्बन्धित सबैलाई धन्यवादसमेत दिए ।

पोर्चुगलमा नेपाली दूतावास नहुँदा राहदानीलगायतका कागजातसम्बन्धी समस्या भोग्दै आएका नेपालीले शिविरमार्फत सेवा पाँउदा राहतको अनुभूति गरेका छन् । लिस्बनबाटै राहदानी सेवा लिन पाउँदा अत्यन्तै सहज भएको विगत लामो समयदेखि पोर्चुगल बस्दै आएका काठमाडौँका अमृत श्रेष्ठले प्रतिक्रिया दिए ।

‘छोराको राहदानीको म्याद सकिएको थियो । नवीकरण गर्न कहाँ जाने र कहिले जाने भनेर चिन्तामा थिएँ । शिविर आएको मौकामा यही बाटै छोराको आवेदन दिन पाइयो’, खुशी हुँदै श्रेष्ठले भने, ‘शिविरले हामी जस्ता नेपालीलाई धेरै सजिलो भयो । समयको पनि बचत भयो, अन्य देश धाउनुपर्ने झञ्झट पनि भएन ।’

शिविरले राहदानीलगायतका नेपालीको समस्या सम्बोधन गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव राजकुमार थापाले बताए । मूलतः शिविरबाट यहाँको कागजी प्रक्रियामा रहेका तर राहदानी नै नभएका र हराएका नेपालीहरूलाई ठूलै राहत मिलेको उनले बताए ।

झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका प्रतिनिधि र यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरूले समेत समन्वय र सहजीकरण गरेका थिए ।

गत चैच १५ गतेदेखि सुरु भएको शिविर मङ्गलबार सम्पन्न भएको हो । टोलीले शिविर अवधिभर राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गरेको थियो । शिविरबाट २०२३ डिसेम्बर ३१ सम्म म्याद भएका राहदानीको नवीकरणका लागि फारम सङ्कलन गरिएको थियो ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?