Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

भानुभक्त क्याम्पसलाई ‘क्युएए’ प्राप्त


१४ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरेपश्चात् क्याम्पसले क्युएए प्राप्त गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । क्याम्पसले यसअघि छ वर्ष अगाडि पनि क्युएए प्राप्त गरेको थियो । “क्याम्पसलाई क्युएए प्रदान गर्ने आयोगको निर्णयले हामीलाई खुसी तुल्याएको छ”, उनले भने ।

क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक हबको रुपमा विकास हुँदै गइरहेको छ । व्यास नगरपालिका, ऋषिङ, म्याग्दे , बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने गरेका छन् ।

विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । तत्कालीन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लवको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११÷१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाई हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पसले जनाएको छ ।

कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै सहिद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।

क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताए । क्याम्पसको शैक्षिक विकासका लागि बीस वर्षे गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रुपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

क्याम्पसमा हाल ६४ प्राध्यापक र १६ कर्मचारी कार्यरत छन् । विद्यार्थीको शुल्क क्याम्पसको मुख्य आम्दानी रहेको र क्याम्पस आर्थिकरुपमा आत्मनिर्भर बन्न सफल भएको क्याम्पस प्रमुख हड्खलेले बताए । क्याम्पसको कूल आम्दानीको ९० प्रतिशत तलबभत्तामा खर्च हुने गरेको छ । क्याम्पसले आर्थिक वर्ष ०७८÷७९ मा रु सात करोड ९१ लाख १७ हजार आम्दानी गरेको थियो ।

क्याम्पसले भर्नाको क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ । क्याम्पस प्रमुख हड्खलेले भने, “सरकारी क्षेत्रबाट क्याम्पसको लागि ठूलो सहयोग छैन । समुदायकै व्यक्तिको प्रयासले क्याम्पस आज यो अवस्थासम्म आइपुगेको छ ।”


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?