Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

बज्न छाडे गाउँघरमा पञ्चेबाजा


१४ वैशाख ,ढोरपाटन । गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्ष भए । उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । दश वर्षकै उमेरदेखि बाजा बजाउन थालेका उनि अहिले पनि मेला महोत्सव, विवाह तथा व्रतबन्धमा पुग्छन् । पञ्चेबाजाका रुपमा परिचित गलकोट क्षेत्रमा पछिल्लो समय बाजा बजाउने प्रचलन हराउन थालेकोप्रति दर्जी चिन्तित छन् ।

केही वर्षयता आयातित विद्युतीय ‘साउण्ड सिस्टम’ले पञ्चबाजा ओझेलमा पर्न थालेका छन् । अचेल गाउँ बस्तीमा बाजाको आवाज निकै कम सुनिन्छन् । पञ्चेबाजाप्रति युवाले चासो नदिँदा लोप हुने खतरा बढेको हो । विशेष गरी दलित समुदायले बजाउँदै आएको पञ्चेबाजा अहिले अन्य समुदायका कलाकारले पनि बजाउन थालेका छन् । बाजा बजाउने दलित समुदायको पुख्यौली पेसा भए पनि अहिले नयाँ पुस्ताले चासो दिएको पाइँदैन ।

पञ्चेबाजा लोप हुने अवस्थामा पुगेपछि गलकोट नगरपालिकाले यसको संरक्षणमा ध्यान दिएको छ । बाजा बजाउने दलित समुदायकालाई प्रोत्साहनस्वरुप बाजालगायतका आवश्यक सामग्री सहयोग गर्दै आएको छ । नगरपालिकाले आवश्यक सामग्री प्रदान गरे पनि पञ्चेबाजाको लोकप्रियतामा कमी हुँदै गएको छ । इन्द्रबहादुरले गाउँमा युवा नहुँदा बाजा बजाउने समुह नै नपुग्ने गुनासो गर्छन् । पहिले गाउँमा बाजा बजाउने धेरै समूह हुने गरेको र माग पनि धेरै आउने गरेको जनाउँदै अहिले माग पनि घटेको र बजाउने कलाकारको समेत अभाव हुँदै गएको उनले बताए ।

धेरैजसो युवा विदेश गएको र गाउँमा भएकाले बाजा बजाउन लाज मान्ने गरेको दर्जीको भनाइ छ । अहिलेसम्म बूढापाकाकै भरमा पञ्चेबाजा संरक्षित भएको जनाउँदै आफूहरुको हात पाखुरा बसे भने यो संस्कृतिनै हराउन सक्ने उनको चिन्ता छ । दर्जी भन्छन्, “बाजा बजाउने प्रचलन त हाम्रो जिजु बाजेदेखि चल्दै आएको रीति हो, हामीहरुले बाजा बाजाउन सिकेको होइन, हाम्लाइ त बाजाको ताल मिलाएर बजाउने ज्ञान ‘अटोमेटिक’ आउँछ, मैले नै बजाउन थालेको दशकौँ भयो, अहिले पनि बजाउँदै आएको छु, अहिले पहिलाको जस्तो माग आउँदैन, पहिले त धेरै ठाउँबाट बाजा बजाउनका लागि बोलाउँथे, अहिले त बजाउने मान्छेनै छैनन्, गाउँमा भएका तन्नेरी सबै लाहुर (विदेश) गए, हामी बुढा भयौँ, टाढा जान सक्दैनौँ, नजिक नजिक मात्रै बजाउँछौँ, बाजाको ताल सुन्नै गाह्रो हुन थाल्यो ।”

स्थानीय लालबहादुर परियारले पनि बाजा बजाउन थालेको ४० वर्ष भयो । ४९ वर्षीय परियार अहिले पनि धेरै ठाउँमा बाजा बजाउन पुग्छन् । दिनप्रति दिन बाजा बजाउने समूहका सदस्य घट्दै गएको भन्दै परियारले दुई/चार वर्ष पञ्चेबाजा बजाउने प्रचलननै हराउन सक्ने बताउछन् । उनले पञ्चेबाजा बजाएर घर परिवार चलाएको सुनाउँदै आम्दानी पनि राम्रो हुने गरेको बताए । एक दिनमै एउटा समूहले रु ३५/४० हजार कमाइ गर्न सकिने उनको भनाइ छ ।

पछिल्लो समय मेला महोत्सव र विवाहमा रेकर्डिङ गीत बजाउने गरेको भन्दै पञ्चेबाजा ओझेलमा पर्न थालेको उनले बताए । पहिले विवाहको महिनामा कुनै दिन खाली नहुने गरेको स्मरण गर्दै अहिले हप्तामा एक पटक पनि काम नपाएको परियारको गुनासो छ । उनले पञ्चेबाजासँगै मौलिक संस्कृति र परम्परा पनि लोप हुँदै जान थालेको बताउछन् । “पहिले बाजा नबजाएसम्म विवाह हुँदैनथ्यो, मेला महोत्सव र पर्व रमाइलो हुँदैनथे, अहिले त बाजाको खास्सै वास्ता छैन, गीत सङ्गीतले गर्दा होकी, जमाना फेरिएर हो बाजाको महत्व घटेको छ”, उनले भने, “बाजा बजाएरै छोराछोरी हुर्काइयो, पढाइयो, अहिले कमाइ अरु केही छैन, हातमुख जोड्न पनि गाह्रो हुन्छ, कसैले बाजा बजाउन बोलाइहाले पनि समूह जम्मा गर्नै गाह्रो हुन्छ ।”

गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले पञ्चेबाजा गलकोटको पहिचान भएको जनाउँदै यसको संरक्षणका लागि पञ्चेबाजा समूहलाई रु तीन लाख बराबरको बाजा, कर्नाल र पोसाक उपलब्ध गराएको बताए । पछिल्लो समय पञ्चेबाजा हराउँदै जान थालेपछि यसतर्फ बाजा बजाउने समूह तथा समुदायलाई आकर्षण गर्नका लागि वडा कार्यालय समय–समयमा सहयोग गर्दै आएको बताए । अहिले यस क्षेत्रमा बाजा बजाउनेको सङ्ख्या पनि निकै कम भएको जनाइएको छ ।

अध्यक्ष भण्डारी भनछन्, “पञ्चेबाजासँग हाम्रो पहिचान जोडिएको छ, कला संस्कृति मासिनु भनेको मानव जातिको अस्तित्व सङ्कटमा पर्नु हो, त्यसले गर्दा यस्ता एतिहासिक महत्व बोकेका मौलिक संस्कृतिको संरक्षणमा हामीहरुले जोड दिएका छौँ, यहाँका पञ्चेबाजासँगै अरु मौलिक कला, संस्कृति प्रवद्र्धन गर्न हामीहरु लागि रहेका छौँ ।”


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?