Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ठेकेदारको लापरवाहीले पुल अधुरै


१३ वैशाख, बाँके । बाँकेमा ठेकेदार कम्पनीको लापरवाहीका कारण पाँच पुल अधुरै छन् । लुम्बिनी प्रदेश सरकारको लगानीमा पुल निर्माणको जिम्मा लिएका ठेकेदारले सम्झौताको समय सकिँदा पनि काम सम्पन्न गरेका छैनन् ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर ललितबहादुर न्यौपानेले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न हुन नसकेका पाँच पुलमध्ये गाल्भा÷सिद्धार्थ दर्शन जेभीले ठेक्का पाएका तीन र अञ्जना यादव जेभीले ठेक्का पाएका दुईवटा पुल अझै अधुरै छन् ।

ती पुलमध्ये गाल्भाले निर्माण गरिरहेका तीन पुलको काम सम्पन्न गर्नुपर्ने समय एक वर्ष थपिएकामा सो समय पनि सकिन लागेको र अञ्जना यादव जेभीले निर्माण गरिरहेको दुई पुलको समेत सम्झौता म्याद सकिए पनि पुल अधुरै रहेको छ । वर्षायाम सुरु हुन लाग्दासमेत पुलको काम सम्पन्न नभएपछि स्थानीयवासीलाई आवतजावतकै चिन्ताले सताउन थालेको खजुरा–२ का अगुवा कृषक गेहेन्द्र धितालले बताए ।

किरणनाला खोलामा पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवतजावत र कृषि उपज नेपालगञ्जसम्म पुर्याउन धेरै कठिनाइ हुने गरेको उहाँको भनाइ छ । खजुरा गाउँपालिका–२ ‘सी’ गाउँस्थित किरणनालामा निर्माणाधीन पुल गाल्भाले बनाउन लागेको २० महिना भइसक्यो । पच्चीस मिटरको सो पुल २०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी कम्पनीले २०७७ फागुन १९ गते सम्झौता गरेको थियो तर हालसम्म ३५ प्रतिशतमात्र काम भएको छ ।

गाल्भाले नै बाँकेको वैजनाथ गाउँपालिका–५, वनखेतमा रहेको किरणनालामा २५ मिटरको पुल र जानकी गाउँपालिका–४ छत्रपुरमा रहेको किरणनालामै २५ मिटरको पुल निर्माण सोही समयमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर सम्झौताको निर्धारित मितिसम्ममा कम्पनीले दुवै पुलको काम करिब ४० प्रतिशतमात्र पूरा गरेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर न्यौपानेले बताए ।

गाल्भाले खजुराको किरणनालामा रु पाँच करोड ८५ लाख, वैजनाथको वनखेतमा रु चार करोड ७२ लाख र जानकीको छत्रपुरमा पुल निर्माणका लागि रु पाँच करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले खजुरा गाउँपालिकाको पुलको काम ४५ प्रतिशत सम्पन्न गरेको छ भने वैजनाथमा ५० प्रतिशत र जानकीमा ३० प्रतिशतमात्र काम सम्पन्न गरेको छ । थपिएको म्याद सकिन चार महिनामात्र बाँकी रहेकाले कम्पनीले काम सम्पन्न गर्न नसक्ने स्थिति देखिएको छ ।

बाँकेमा दुईवटा पुलको ठेक्का पाएको अञ्जना यादव जेभी अहिले सम्पर्कविहीन छ । उक्त कम्पनीले निर्माण गरिरहेको दुईवटा पुलको सम्झौता मिति सकिए पनि कम्पनी सम्पर्कमा नआएको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख न्यौपानेले बताउनुभयो । उक्त कम्पनीले २०७८ भदौमा खजुरा गाउँपालिका–१ मा ३० मिटरको पुल रु पाँच करोडमा निर्माण गर्ने सम्झौता गरेको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो तर निर्धारित समय पूरा भए पनि अझै पुल निर्माण सकिएको छैन ।

गाउँपालिकामा अधुरा रहेका पूर्वाधार विकासका योजना सम्पन्न गराउन सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा प्रगति हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए । उनले गाउँपालिकामा निर्माणको काम गरिरहेका सबै निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरिएको बताए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?