Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

मकै बालीमा फौजी कीराको प्रकोप


१३ वैशाख, पर्वत । पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।

लामो समयको खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’ को प्रकोप देखिन थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न स्थानमा उक्त कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको छ । ‘फौजी कीरा’को प्रकोप फैलिने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए । विगत वर्षमा मनसुन बढी सक्रिय रहेका कारण कीराको प्रभाव नदेखिएको उनको भनाइ छ ।

“यस वर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले कीराको प्रकोप फैलिन सक्ने जोखिम छ”, उनले भने–“अघिल्लो वर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा यसको प्रकोप देखिन्छ । घाम लागेर खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।”

गोरखामा २०७७ सालमा अमेरिकन फौजी कीराले मकैको बोट र गुभा खाएर नष्ट गरेको थियो । उक्त जिल्लामा कृषकले ठूलो क्षति व्यहोर्नुपरेको थापाले बताए । पछिल्लो समय पर्वतमा यसको जोखिम बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा यतिबेला आइपिएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ । सोही क्रममा कृषकले प्रत्यक्षरूपमा मकैखेतीमा नै गएर मकैको विकास क्रमलगायतका बारेमा अध्ययन गरिरहेका छन् ।

सोही क्रममा गत शुक्रवार ‘फौजी कीरा’ले मकैको बोट खाएको देखिएको हो । लगत्तै कुश्मा नगरपालिका–२ खुर्कोटमा पनि ‘फौजी कीरा’ले मकैका बोट खाएको पाइएको थियो । फलेवास, विहादी, महाशिला, मोदी र पैंयुका केही वडामा पनि यो कीराको प्रभाव देखिन थालेको कृषकले बताएका छन् ।

अधिकृत थापाका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्तासम्म लार्भा अवस्थामा रहने यो कीराले सबैभन्दा बढी क्षति नै लार्भा अवस्थामा पूर्याउँछ । करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अन्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने उनले बताए । एक ठाउँमा देखिनु भनेको धेरै ठाउँमा देखिनु भएकाले यदाकदा देखिँदा बित्तिकै यसको प्रकोपको भय हुने उनले बताए ।

पर्वतका विभिन्न स्थानीय तहमा रहेका १० समूहले मकैको बीउ उत्पादन गरिरहेका छन् । ती समूहलाई ‘अमेरिकन फौजी कीरा’ को प्रकोपबारे केन्द्रले जानकारी गराएको छ । केन्द्रका कृषि प्राविधिक तथा कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले उक्त कीराले रातिको समयमा बढी क्षति गर्ने गरेको बताए ।

यसको व्यवस्थापनका लागि खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीच–बीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाई कीरा आकर्षण गरी विषादी प्रयोग गरेर एकैपटक मार्नेलगायत उपाय अपनाउन थापाले सुझाव दिए ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?