Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नगराइनमा नौ महिनादेखिको विवाद साम्य


१३ वैशाख ,जनकपुरधाम। धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद भएको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली कांग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प भएको थियो ।

एकअर्काको निर्णय दुवै पक्षले मान्न आनाकानी गरेपछि नगरपालिकाका कामकारवाहीमा बाधा पुगेको थियो । स्थानीयको दबाबपछि दुवै पक्ष मिलेर काम गर्न सहमत भएका छन् । नगरप्रमुख विनयकुमार यादव आपसी सहमतिमा नगर क्षेत्रमा विकासका गतिविधि अगाडि बढाइने बताउछन् । “नगर क्षेत्रमा विभिन्न योजना निर्माण थालेका छौँ”, उनले भने ।

अघिल्लो कार्यकालमा बनेका ऐन, नियम र कार्यविधिका विषयमा विवाद भएको यादवको भनाइ छ । दुवै पक्षबीचको विवाद समाधानपछि वडा नं ६ स्थित नेपाल–भारत सीमामा पर्ने जमुना नदीमा झोलुङ्गे पुल र नगरको प्रशासकीय भवन निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यस्तै १५ शय्याको अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ ।

यसैगरी स्मार्ट नगराइन नगरपालिका बनाउन जटहीबाट जनकपुरधामसँग सडकको बीच भागमा वृक्षरोपण, दुवै सीमामा प्रवेशद्वार, बत्ति जडान, प्रत्येक वडामा विद्युतीकरण, कृषि सडकलगायत कामका लागि प्रक्रिया थालिएको यादवले बताए ।

नगर उपप्रमुख राधादेवी यादव आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गर्ने गरी बनाइएका कानुन संशोधनका लागि पहल नहुँदा विवाद भएको र अब त्यसले निकास पाएको बताउछिन् । “आगामी असारमा हुने नगरपरिषद्बाट पारित गर्ने गरी कानुन संशोधन गर्न मस्यौदा निर्माणका लागि समिति बनाउने र बाँकी काम द्विपक्षीय सहमतिमा गर्ने समझदारी भएको’’, उनले भनिन् ।

विवादका कारण रोकिएको सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ । उपप्रमुख नेतृत्वको न्यायिक समितिले पूर्णता पाएको छ । “अब छिट्टै मुद्दामामिलाका काम छिनोफानोतर्फ लाग्छौँ”, उपप्रमुख यादवले भने । विवाद भएपछि रोकिएका वडास्तरका कामकाजसमेत अघि बढेका नगराइन–६ का वडाध्यक्ष ललित साहले जानकारी दिए।

नगरपालिकामा मुख्य विवाद उपभोक्ता समिति गठन र अनुगमन कसले गर्ने भन्ने विषयमा भएको थियोे । “आ–आफ्नो क्षेत्राधिकारमा रहेर जिम्मेवारी निर्वाह गर्ने र जिम्मेवारी निर्वाह गर्दै जाँदा बाधा–अड्चन आएमा सोहीअनुसार बाधाअड्काउ फुकाउने गरी अगाडि बढ्ने सहमति भएको छ”, नगरप्रमुख यादवले भने ।


प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?