Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल र्‍याली


९ वैशाख ,पाटन । पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल र्‍याली सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्‍याली गरिएको हो ।

साइकल र्‍यालीको शुभारम्भमा धारणा राख्दै नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले यो महत्वपूर्ण कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा निकै खुसी लागेको बताए । “नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकल यात्रा कार्यक्रम गरेको राम्रो हो, वातावरण संरक्षणका लागि विश्वका सबै देशले यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ, सबै देशका नागरिक, देश र विश्वकै वातावरणका लागि महत्वपूर्ण छ”, राजदूत थम्पसनले भने ।

उनले महालक्ष्मी नगरपालिका–८ को स्वास्थ्यचौकी परिसरमा वृक्षरोपणसमेत गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल र्‍यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताए । “ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ, अहिलेसम्म हामीले ३२ दशमलव पाँच किमी साइकल लेन बनाइसकेका छौँ, साइकल र्‍याली हुनु खुसीको कुरा हो”, प्रमुख महर्जनले भने, “साइकल चढ्नु स्वास्थ्यका लागि पनि राम्रो छ, यस्ता कार्यक्रमले हाम्रो कामलाई पनि सहयोग मिलेको छ ।”

उनले साइकलको प्रयोगबाट पेट्रोलियम पदार्थलाई विस्थापित गर्न र आर्थिक बचतका लागि सहयोग पुग्ने बताए । अमेरिकन राजदूतावसको सहयोगमा नुसान र आइएसएसआरको संयुक्त कार्यक्रमका लागि ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले समन्वय गरेका हुन् ।

आज विश्वभर विभिन्न कार्यक्रमका साथ पृथ्वी दिवस मनाइँदैछ । हरेक २२ अप्रिलका दिन एक सय ९२ भन्दाबढी राष्ट्रमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको यो एउटा महत्वपूर्ण दिवस हो ।

सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्तऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाका रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुआत गरे ।

त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो ।

त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।


प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?